शुक्रबार, चैत १६, २०८०

कार्यालय प्रमुखले गरे १२ करोड बेरुजु, थालियो छानबिन !

नेपालखोज २०७९ साउन १९ गते १३:३०

महोत्तरी । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार उनी माथि सो बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखि उनी नगरपालिकामा कार्यरत छन् । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव ०७७/७८ सम्म १२ करोड रुपैयाँ बेरुजु देखिएको हो ।

उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने ६ करोड ८८ लाख ४७ हजार रुपैयाँ, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ६० लाख ५० हजार रुपैयाँ, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार रुपैयाँ र पेश्की दुई करोड १८ लाख ३४ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने ६ करोड ८८ लाख ४७ हजार रुपैयाँ देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव ०७८/७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।

कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव ०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष ९२०७६/७७० को ४३ करोड तीन लाख ६१ हजार रुपैयाँ कुल बेरुजु बाँकी देखिएको थियो ।

पछिल्लो आव ०७७/७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु ४८ करोड ६६ लाख ९९ हजार रुपैयाँ देखिएको प्रतिवेदनमा उल्लेख छ । -रासस

प्रतिक्रिया