आइतबार, वैशाख २३, २०८१

मकवानपुरमा डेंगुका बिरामी फेला

नेपालखोज २०७९ साउन २१ गते १२:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेंगुको प्रकोप बढ्दै गएको छ । चारै वटै वडामा करिब ४० जना डेंगुका संक्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले डेंगुका बिरामीको चितवनको भरतपुर, काठमाडौं र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।

वडा नं ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याक्ने कार्य भइरहेको पनि उनले बताए । यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेंगु रोग पहिचानका लागि तथ्यांक संकलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।

डेंगु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै संक्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उनले जानकारी दिए । विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेंगुका बिरामी फेला परेको थियो ।-रासस

प्रतिक्रिया