बुधबार, वैशाख १७, २०८२

‘कमेडी हब’को निर्देशक फेर्ने प्रयास असफल, मुन्द्रेसँग कुरा नमिल्दा माग्ने बुढा ‘सेफ’

नेपालखोज २०७९ साउन २२ गते ११:५३

काठमाडौं । सुरुवाती दिनबाटै दर्शकबाट राम्रो प्रतिक्रिया नपाएको हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ अहिले विभिन्न विषयले चर्चामा छ । केदार घिमिरे (माग्ने बुढा) को निर्देशनबाट कार्यक्रममले अपेक्षित रुपमा लय नसमातेपछि निर्देशक फेर्ने निर्माण पक्षको प्रयास भने असफल भएको छ ।

विभिन्न किचलोका साथै कार्यक्रम हाइपमा नपुगेपछि एउटा अंक धार्मिक विवादमा फसाएर माग्ने बुढाले बाहिरने बहाना पारेका थिए । ११ र १२औं अंकको छायांकनमा उनी गएनन् । ‘११ र १२औं अंक छायांकन भइसकेको छ । दुई अंक माग्ने बुढाकै अनुपस्थितिम प्रसारण हुन्छ,’ कार्यक्रमका एक कलाकारले नेपालखोजसँग भने ।

१३औं अंकबाट निर्देशकमा जितु नेपाल ‘मुन्द्रे’लाई भित्र्याउन निर्माण पक्ष दौडधुपमा थियो । आफ्नो नयाँ कार्यक्रमका लागि सुटिङस्थल खोज्दै हिँडेका मुन्द्रेले उनीहरुको प्रस्ताव ठाडै अस्वीकार गरे । मुन्द्रेलाई भित्र्याउन नसकेपछि १३औं अंकबाट माग्नेकै निर्देशनमा कार्यक्रमले निरन्तरता पाउने भएको छ । ‘मुन्द्रेसँग कुरा नमिलेपछि माग्ने बुढा नबाहिरिने पक्का भयो, अहिले हामी सुटमै छौं,’ ती कलाकारले नेपालखोजलाई जानकारी दिए ।

निर्देशनमा दम नदेखिएपछि माग्ने बुढा फन्डा रचेर आफैँ बाहिरिने सोचमा रहेको थिए । विकल्प नभेटिँदा पुनः भित्रिएको स्रोतको दाबी छ । राम्रो स्क्रिप्ट काटेर कार्यक्रमलाई गाईजात्रे प्रहसन जस्तो बनाएको र निर्देशनमा दम नदेखिएपछि टिमका कलाकारहरु पनि माग्ने बुढासँग रुष्ट छन् ।

पछिल्लो समय आफ्नालाई मात्र काखी च्याप्ने प्रवृत्ति देखाएपछि केही कलाकारले उनको निर्देशनमा औंला उठाएका थिए । आफ्नो क्षमताबाट कार्यक्रमले लय लिन नसक्ने र टिममा मतभेद बढेपछि भगवान् शिवको नक्कल गरेको सामग्री उनले आफ्नै पहलमा विवादमा ल्याएको स्रोतको दाबी छ । उनले आफ्नो कमजोरी लुकाउन यही धार्मिक विवादको अस्त्र चलाएको स्रोतको बुझाइ छ ।

माग्ने बुढाले ‘कमेडी हब’को निर्देशनका लागि २६औं अंकसम्मका लागि कार्यक्रम उत्पादक मिडिया हबसँग सम्झौता गरेका छन् ।

प्रतिक्रिया