मंगलबार, वैशाख ११, २०८१

त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धनको सरकार बन्यो !

ओम आचार्य २०७९ साउन २३ गते १२:०१

नेपाली राजनीतिमा गणतन्त्रपछि धेरै पार्टी जन्मिए । कति पार्टी राष्ट्रिय दलमा स्थापित भए, कति आफ्नो पहिचानसम्म बनाउन सफल भए कति राजनीतिक दल अन्य राजनीतिक पार्टीमा विलय भए । शेरबाहादुर प्रधानमन्त्री बन्नुभन्दापूर्व एमाले र माओवादीको राजनीति पार्टी एकीकरणपश्चात् नेकपामा परिणत भयो ।

त्यतिखेरको वर्तमान राजनीतिक अवस्था नेपालमा प्रमुख दुई राजनीतिक दल मात्रै निर्णायक रुपमा देखा परे । झन्डै दुईतिहाइको नेकपाको सरकारको सत्ता भोग र नेपाली कांग्रेसमा तत्कालीन आन्तरिक मतभिन्नतातले कारण उत्कट महत्त्वकांक्षा र सत्ता वासनाले तत्कालीन प्रधानमन्त्री केपी ओलीमा ‘मै हुँ’ भन्ने सोचले नेकपाभित्रका पूर्वमाओवादीहरु आफूलाई निरिह र कमजोर महसुस गर्न थाले । अर्कोतर्फ माधव नेपाल र झलनाथ खनालको पार्टीभित्रको आफ्नो पर्व वर्चस्व झन् खस्कँदै गयो ।

समयमै प्रचण्ड र माधव नेपाल नेकपाबाट अलग नभए दुवैको राजनीतिक साख खतम हुने भएको आकलन गरी पार्टी विग्रह गरे । प्रचण्ड पूर्ववत आफ्नो माओवादीमा आए भने माधव नेपालले समाजवादी पार्टी बनाए ।

त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धनको सरकार बन्यो । अहिले पुन: पाँचदलीय गठबन्धनभित्र पनि नेपाली कांग्रेसबाहेक ‘समाजवादी केन्द्र’को नाममा गठबन्धनको तयारीमा छन् । यसका लागि छलफलमा तीव्र रुपमा प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र वामदेव गौतमसमेत एक ठाउँमा आएका छन् । उपेन्द्र यादव अहिलेसम्म यो गठबन्धनमा नरहने बताउँदै आएका छन् । समाजवादी केन्द्रको आवश्यकतामा संलग्न रहेका नेताहरुले एमालेलाई अलग्याउँदै कमजोर बनाउने बताउँदै आए पनि यिनीहरुको भित्री उद्देश्य कांग्रेससँग सिट बाँडफाँडको बार्गेनिङ नै हो ।

सिट बाँडफाँडमा कुरा नमिले वर्तमान पाँचदलीय गठबन्धन भंग हुने पनि टड्कारो देखिन्छ । गठबन्धन नरहेको अवस्था पार्टीभित्र राजनीतिक हिसाबले शेरबहादुर कमजोर छन् र आफू स्थापित भइरहन समाजवादी केन्द्रको मागविपरीत जान सक्दैनन् भन्ने पनि समाजवादीको राजनीतिक बुझाइ हुन सक्छ । यही भएर पाँचदलीयभित्रका प्रचण्ड, माधवलगायतले ‘समाजवादी केन्द्र’को अवधारणा ल्याएको हुन सक्छ ।

अर्कोतर्फ ‘समाजवादी केन्द्र’भित्र अहिले समेटिएका राजनीतिक पार्टीहरु सबै कम्युनिस्ट हुन् । समाजवादी केन्द्र निर्मित भए पनि अहिलेको पाँचदलीय गठबन्धनमा कुनै असर नपर्ने र यो गठबन्धन यथावत् रहनेछ भनेका छन् । तर यो कुरामा विश्वसनीय आधार कम्युनिस्टको राजनीतिक चरित्रगत आधारले देखिँदैन भने अर्कोतर्फ चीनको नेपालमा पटक-पटकको आगमन र कम्युनिस्ट पार्टीसँग भेटघाट, गतिविधि र कम्युनिस्ट एक ठाउँमा ल्याउने प्रयत्नले पनि गठबन्धन यथावत् रहन्छ भन्न सकिने अवस्था छैन । निर्वाचनसम्म कथंकदाचित गठबन्धन यथावत् रहे त्यो पनि ‘समाजवादी केन्द्र’को मागबमोजिम नेपाली कांग्रेससँग सिट बाडँफाँड भएको अवस्थामा निर्वाचनसम्म जान सक्लान् । निर्वाचनपछि बृहत् कम्युनिस्ट पार्टी भनेर एक ठाउँमा सबै वामशक्ति आउँछन् नै ।

नेपाली कांग्रेसको पहिलो धर्म प्रजातन्त्रको रक्षा गर्नु हो र त्यो त्यतिखेर मात्र सम्भव छ समयावधिभित्रै निर्वाचन गर्नु । निर्वाचनमा जान रोक्न खोज्ने, विलम्ब गर्न खोज्ने कुनै शक्ति, कुनै गठबन्धनको बन्धनभित्र रहनु हुँदैन । निर्वाचन बन्धनरहित, निर्वाचन गठबन्धनरहित हुनुपर्छ जसले स्वस्थ निर्वाचन परिणाम दिन्छ ।

प्रतिक्रिया