सोमबार, वैशाख १७, २०८१

जीवन बिमक संघले गर्यो सहयोग

नेपालखोज २०७९ साउन २३ गते १७:१२

काठमाडौं । जीवन बिमक संघ नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट डा. भगवान कोइरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टका तर्फबाट निर्देशक दीपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बिमक संघ नेपालका अध्यक्षलगायत पदाधिकारीद्वारा बिमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थितिमा भएको थियो । समताले देशभर ५० हजारभन्दा बढी आर्थिक रूपले कमजोर विद्यार्थीलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ ।

त्यसैगरी काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।

जीवन बिमक संघ नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले राम्रो काम गर्ने समाजसेवी संस्थाहरूलाई सहयोग गर्न पाउनु खुसीको कुरा हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सबै कम्पनीले यस्ता कार्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया