शुक्रबार, वैशाख १४, २०८१

नितिशकुमारद्वारा सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने प्रयास

नेपालखोज २०७९ साउन २४ गते २०:५९

पटना । जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेस गरेका छन् । आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित एकसय ६४ जना विधायक रहेका पत्रकारहरूलाई जानकारी दिँदै उनले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न आएको बताए ।

उनका साथ आरजेडीका नेता तेजश्वी यादव पनि थिए । जनता दल युनाइटेड र आरजेडीको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् । बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् ।

नेता नितिश कुमारले आजै जनता दल युनाइटेडका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गर्नुभएको थियो । त्यसपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएर राज्यपाल फागु चौहानसँग भेटका निम्ति समय माग्नुभएको थियो ।

आजै पूर्वमुख्यमन्त्री राबडी देवीको निवासमा आरजेडी नेतृत्वको विपक्षी गठबन्धनको बैठक भएको थियो । बैठकले तेजश्वी यादवलाई बिहारमा सरकार गठनबारे उपयुक्त निर्णय गर्न अख्तियारी दिएको थियो ।

प्रतिक्रिया