बुधबार, वैशाख १२, २०८१

चितवनमा पनि कोरोना सङ्क्रमण बढ्यो, सक्रिय संक्रमितको संख्या १०८ पुग्यो

नेपालखोज २०७९ साउन २६ गते १२:१०

चितवन । पछिल्लो समयय चितवनमा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये ५ जना अस्पतालमा र एक सय दुई होम आइसोलेशनमा छन् ।

सक्रिय सङ्क्रमितमध्ये ९० जना भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाकामा सातजना छन् । यस्तै रत्ननगर नगरपालिकामा दुई, माडी, राप्ती र कालिका नगरपालिकामा एक-एकजना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिकामा भने ६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार २२ गतेदेखि जिल्लामा सङ्क्रमण देखिएको हो । यही साउनमा एकजनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार सय ५० पुगेको कार्यालयको तथ्यांकले देखाएको छ । जिल्लामा हालसम्म ३३ हजार आठ सय १४ मा कोरोना पुष्टि भएको छ । तीमध्ये ३३ हजार दुई सय ५६ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले कोरोना फैलन सक्ने भएकाले यसबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताए । भीडमा नजाने, नियमित साबुनपानीले हात धुने, मास्कको नियमित प्रयोग गर्ने, सामान्य रुघाखोकी र ज्वरो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने उनको सुझाव छ । -रासस

प्रतिक्रिया