शुक्रबार, चैत १६, २०८०

भारतले कर लगाउन खोजेपछि तत्काल समस्या समाधान गर्न सरकारसँग व्यवसायीकाे माग

नेपालखोज २०७९ साउन २६ गते १८:४२

काठमाडौं । इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले भारतको राज्यसभा र लोकसभामा पेश भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष माग गरेका हुन् ।

चियासँग सम्बन्धित अन्य समस्याहरुको दीर्घकालिन समाधान गर्न पनि उनीहरुले सरकारलाई आग्रह गरेका छन् । चिया व्यवसायीहरुले भारतीय बजारमा शतप्रतिशत छुट भई चिया निर्यात हुँदै आइरहेको भन्दै अहिले बिना कुनैपनि जानकारी भारतीय चिया निकायले बाणिज्य सन्धिविपरित नेपाली चियाको निर्यातलाई दुरुत्साहन गर्न खोजेको आरोप लगाएका छन् ।

विश्व बजारमा लोकप्रिय इलामका चियालाई गुणस्तरहिन चियाको संज्ञा दिई विभिन्न बहाना बनाउँदै करको दायरामा ल्याउने प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेस गरेको भन्दै व्यवसायीहरुले आपक्ति जनाएका हुन् । नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कुटनीतिक पहल गरी समस्याको समाधान गर्नका लागि व्यवसायीहरुले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । चिया भारत निर्यात नभएमा १५० भन्दा बढी उद्योग बन्द हुने व्यवसायीहरुको चिन्ता छ । उनीहरुले राष्ट्रको ठुलो लगानी धरासयी हुने, चिया खेतीमा आश्रित २६ हजार कृषकहरु आयविहिन हुने, ८० हजार चिया मजदुर बेरोजगार हुने भयावह स्थितिको श्रृजना हुने पनि निश्कर्ष निकालेका छन् ।

इलाम जिल्ला नेपालको अर्थोडक्स चियाको उत्पादन गर्ने मुख्य जिल्लाको रुपमा रहेको छ । कुल अर्थोडक्स चिया उत्पादनको ९० प्रतिशत उत्पादन हुने इलाममा १३ हजार हेक्टर चिया क्षेत्रको विकास भई अर्थोडक्स, ग्रिन र स्पेशन चियाको उत्पादन हुने गरेको छ । त्यस्तै, चिया खेतीमा २६ हजार कृषकहरुको सम्लग्नता रहेको र ८० हजार भन्दा बढीले ग्रामिण रोजगारी पाएको व्यवसायीहरुको भनाई छ ।

पत्रकार सम्मेलनमा सुर्योदय टि प्रोडक्सन एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठ, सदस्य सुमित श्रेष्ठ, कोषाध्यक्ष महेश अर्याल, सल्लाहकार पुनम राई र नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बर खड्काले भारतको कारण व्यवसायीहरु मर्कामा परेको आफूहरुको मर्का बुझ्न आग्रह गरेका छन् । उनीहरुले तत्काल आफूहरुको माग पूरा गर्नको लागि सरकारले पहलकदमी लिओस भन्ने धारणा राखेका थिए । पुनम राईले आफूहरुको चिया जापान, जर्मन, फ्रान्स गएको सुनाए । उनले आफूहरुको चियालाई भारतले कसरी निम्न गुणस्तरको चिया भनेको भन्दै ? प्रश्न गरे । उनले भने,‘हाम्रो चिया न्युनस्तरको छँदैछैन् ।’

प्रतिक्रिया