बुधबार, वैशाख १२, २०८१

जनकपुर भन्सारले २६ करोड ३६ लाख उठायो !

जनकपुर भन्सारको राजस्व संकलन किन घट्यो ? लक्ष्यको ५४ प्रतिशत राजस्व मात्रै संकलन ।

नेपालखोज २०७९ साउन २७ गते ८:४८

जनकपुर । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । कार्यालयले आव ०७८/७९ मा ४८ करोड ५५ लाख ९२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात् २६ करोड ३६ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव ०७८/७९ मा भन्सार महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ नौ करोड ७४ लाख ५९ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार रुपैयाँ र बोलपत्र आयाततर्फ सात लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आव ०७७/७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको थियो । आव ०७७/७८ मा ५३ करोड ५१ हजार ५७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४४ करोड ५९ लाख ७१ हजार रुपैयाँ संकलन भएको थियो । भन्सार कार्यालयका अनुसार आव ०७७/७८ मा भन्सार महसुलतर्फ २१ करोड ७७ लाख ८२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २२ करोड ३३ लाख ८ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ३० लाख ६२ हजार रुपैयाँ र सडक निकासी दस्तुरतर्फ १८ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुला सीमा, स्थानीय तहको निर्वाचनलगायत कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए । जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय अहिले बन्द रहेको कार्यालयले जनाएको छ । -रासस

प्रतिक्रिया