शुक्रबार, वैशाख ७, २०८१

अलबिदा ‘बिगबुल’

नेपालखोज २०७९ साउन २९ गते १२:०६

काठमाडौं । भारतीय धनाढ्य सेयर लगानीकर्ता ६२ वर्षीय राकेश झुनझुनवालाको निधन भएको छ । मुम्बईस्थित बिज्र क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी मधुमेह र मिर्गौलाका बिरामी थिए । आइतबार बिहान स्थानीय समयअनुसार करिब ७ बजे उनको मृत्य भएको अस्पतालले जनाएको छ ।

उनको मृत्युमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । सामाजिक सन्जालमा प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘राकेश झुनझुनवाला अदम्य हुनुहुन्थ्यो । उहाँले आर्थिक संसारमा अमिट योगदान दिनुभएको छ । उहाँ भारतको प्रगतिको बारेमा पनि धेरै भावुक हुनुहुन्थ्यो । उहाँको निधन दुःखद छ । उहाँको परिवार र प्रशंसकहरूलाई मेरो समवेदना । ओम शान्ति ।’

राकेश झुनझुनवालालाई भारतीय सेयर बजारको ‘बिगबुल’ भनेरसमेत चिनिन्छ । पाँच हजार भारू लिएर सेयर मार्केटमा छिरेका उनी गत वर्ष ५.८ बिलियन अमेरिकी डलरका मालिका बनेका थिए । उनी सन् २०२१ का भारतको ३६औं र विश्वको ४३८औं धनी व्यक्ति हुन् । तर, धनी भए पनि झुनझुनवाला सादा जीवनशैलीमा रमाउने व्यक्ति भएको उनीनिकटहरुको भनाइ छ ।

सन् २०२१ मा उनको र प्रधानमन्त्री मोदीको तस्बिर भाइरल बनेको थियो । धनाढ्य व्यक्ति प्रधानमन्त्रीलाई भेट्न खुम्चिएको सर्ट लगाएर गएको कारण उनी ट्रोलको सिकार भएका थिए ।

प्रतिक्रिया