बुधबार, जेठ २, २०८१

नबिलले गर्‍यो वित्तीय पहुँच अभिमुखीकरण

नेपालखोज २०७९ साउन २९ गते १८:२६

काठमाडौं । नबिल बैंकले ललितपुरको खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले नबिल दिगो बैंकिङका विभिन्न आयाम, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाबारे विशेष प्रस्तुति दिएको थियो । कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक सधैं तत्पर रहेको बताए । त्यस्तै, ललितपुर महानगरपालिका २१, खोकनाका वडा अध्यक्ष रवीन्द्र महर्जनले यस कार्यक्रमका लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न बैंकसँग हातेमालो गर्ने बताएका छन् ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसको दिनबाट दिगो बैंकिङको सुरुवात गरेको हो । १७ शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल एक सय शाखामा विस्तार गरेको छ । दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत बैंकले पाँच सयभन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया