शुक्रबार, वैशाख १४, २०८१

‘आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य हो’

नेपालखोज २०७९ साउन ३० गते १६:०२

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दूरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेको उनको भनाइ छ । उनले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुःख सुखमा महलमपट्टी लगाउन सक्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।

उनले भने, ‘तपाईंहरूले जति चुस्त र प्रभावकारी तवरले सार्वजनिक सेवा प्रवाह गर्न सक्नुभयो, जति प्रभावकारी तवरले विकास निर्माणका कार्यलाई अघि बढाउनसक्नुभयो, जनताले त्यति धेरै सुशासनको अनुभूति गर्न पाउँछन् । जनताको सरकारप्रतिको भरोसा र विश्वास पनि बढ्ने हुन्छ । अतः यस कुरालाई गम्भीरतासाथ मनन् गरी तपाईंहरूले काम गर्ने अपेक्षा लिएको छु ।’

स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि सोमबारदेखि सुरु भएको दुईदिने अभिमुखीकरणमा उनले उपलब्ध साधन-स्रोतको प्राथमिकीकरण गरेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । मुलुकमा तीन तहको संघीय शासन प्रणाली लागु भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताको शासक होइन सेवक र प्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुपर्ने बताए ।

उनले जनताको अपेक्षा र भावनाबमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्नुपर्ने बताउँदै स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटोछरितो ढंगले बिनाकुनै झन्झट सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य रहेको बताए । उनले जनताप्रति उत्तरदायी बन्दै पारदर्शीता र गुणस्तरीयता कायम गरेर काम गर्न सबै स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराए ।

‘स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला हो, जनताका सुख दुःखमा साथ दिनोस्’

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित कार्यक्रममा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ३४, उपप्रमुख २३, नगरपालिकाका प्रमुख १४१, उपप्रमुख ११०, गाउँपालिका प्रमुख १८८, उपाध्यक्ष १९० लाई निमन्त्रणा गरिएको थियो । यसबाहेक कार्यक्रममा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको पनि उपस्थिति रहेको पार्टी कार्यालयले जनाएको छ । कार्यक्रमको पहिलो दिन सोमबार उद्घाटनपछि संविधान, स्थानीय तह, राजस्व, तीनै तहका सरकारको अन्तरसम्बन्धलगायत क्षेत्रका विज्ञहरु काशीराज दाहाल, जगदीश भट्टराई, डा. विश्वनाथ पौडेल र सन्तोषमणि नेपालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसैगरी दोस्रो दिन (मंगलबार) पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता एवं गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता डा. प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रतिक्रिया