शुक्रबार, वैशाख १४, २०८१

दूरसञ्चार प्राधिकरणले भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने, ‘एमडीएमएस’ लागु गर्ने

नेपालखोज २०७९ साउन ३० गते १९:०२

काठमाडौं । नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ ।

प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसन (एमपीआइए)ले बिहीबार काठमाण्डौंमा सम्पन्न ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’को संयुक्त कार्यशाला गोष्ठीमा उक्त निर्णय गरेका थिए ।

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रहेर सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागू गर्नु पर्नेमा जोड दिए ।

त्यस्तै, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम शुरु गर्ने प्रतिवद्धता जनाए ।

नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा सम्पन्न सो गोष्ठीमा एमपीआइएका अध्यक्ष दीपक मल्होत्राले हाल मोबाइलको प्रयोग गाँस, बास र कपासपछिको अति आवश्यक वस्तुको रुपमा भइरहेको बताउँदै पछिल्लो समय सरकारले विलासी वस्तुको रुपमा मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सो कार्यको आपत्ति जनाए ।

मोबाइल फोनको व्यवसायमा देखिएको अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागू गर्न अब ढिला गर्न नहुने अध्यक्ष मल्होत्राको भनाइ थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस शुरुवात हुने र यसको दुईदेखि तीन महिनामा सतःप्रतिशत लागू हुने बताए ।

यो दुईतीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गर्ने र भदौ ३० पछि नेपालमा अनधिकृत आयातित मोबाईल नचल्ने बताए । यो कुरामा नेपाल दूरसञ्चार प्राधिकरणले सतःप्रतिशत प्रतिबद्वता दिएको उने बताए ।

उक्त कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले एमडीएमएस महत्व, विशेषता र प्राविधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा बताएका थिए । यस्तै प्राधिकरणका निर्देशक रेवती राम पन्तले एमडीएमएस नियमावली २०७५ का बारेमा बताएका थिए ।

प्रतिक्रिया