शुक्रबार, चैत १६, २०८०

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालखोज २०७९ भदौ २ गते १६:५२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत् र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन्।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी/व्यवसायीबीचको अन्तर्क्रियालाई सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले नेपालको जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

उनले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रकोबीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताए । ‘हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौँ । भारत, चीन, युरोपेली संघ र आंशिकरूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा कमाएका छन्,’ उनले भने ।

उनले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गरे ।

‘यस भ्रमण दलका प्रतिनिधिबाट नयाँस्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरौँ । सबै सदस्यले एकएक वटा व्यवसायमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरौँ,’ उनले भने, ‘नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना छ । भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तक्र्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा म विश्वस्त छु,’ उनले भने ।

ढकालले नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुबै देशले एकअर्काको फाइदा लिनसक्ने बताए । ‘नेपाली निजी क्षेत्र सधैँ झैँ भारतीय आर्थिक पुनरुत्थान र समृद्धिको हिस्सा बन्न आतुर छ । हामी हाम्रो द्विपक्षीय व्यापार सम्बन्ध र सहयोगलाई सुदृढ गर्न तयार छौँ,’ उनले भने ।

प्रतिक्रिया