मंगलबार, चैत ६, २०८०

‘श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य प्रदान गरोस्’

नेपालखोज २०७९ भदौ ३ गते ६:५५

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ ।

‘सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछ,’ राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जातिसमक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्त्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ ।’

त्यसैकारण विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् । ‘सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ,’ सन्देशमा भनिएको छ ।

उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।

प्रतिक्रिया