मंगलबार, चैत ६, २०८०

परिवारकै जिम्मेवारी दुर्गाकै काँधमा…

नेपालखोज २०७९ भदौ ३ गते १०:५७

गलकोट । धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका ११ , रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि ६ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे ।

पारिवारिक बोझ र आर्थिक संकटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उनको थाप्लोमा आमा, बुबा र दुई भाइको जिम्मेवारी छ । सापकोटाको पाँचजनाको परिवारमध्ये उनी मात्रै सपांग हुन् । उनीबाहेक बाबु, आमा र दुई भाइ जन्मजात फरक क्षमताका छन् । आमालाई क्यान्सर रोगसमेत छ । लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ ।

दुर्गाका बुबा जगन्नाथ बोल्न र सुन्नसमेत सक्दैनन् । आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन । ‘सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधियाँ कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बांगो छ, पाठेघरको क्यान्सर छ । आर्थिक अभावले उपचार गर्न सकिएको छैन,’ उनले भनिन्, ‘भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु ।’

बुबाबाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गा सुनाउछिन् । गत साउन २९ गते सबैजनाको अपाङ्गता परिचयपत्र बनाएको उनले बताइन् । ‘सम्पत्तिका नाममा खोलाछेउ रहेको घर छ,’ उनले भनिन् । अपांगता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गााको भनाइ छ । आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपांगता परिचयपत्र पाएका छन् । ‘क’ वर्गको अपांगता परिचयपत्र भएकालाई मासिक चार हजार र ‘ख’ वर्गको अपांगता परिचयपत्र भएकालाई मासिक दुई हजार रुपैयाँ प्राप्त हुन्छ । -रासस

प्रतिक्रिया