बिहीबार, चैत १५, २०८०

राष्ट्रपति भण्डारीले भनिन्- प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो

नेपालखोज २०७९ भदौ ३ गते १४:५६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएकी छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजाज शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको बताइन् । ६ दशकअघि ४० शय्याबाट सुरुआत भएको यस अस्पतालले हाल चार सय ७९ शय्याबाट सेवा दिइरहेकोमा उनले खुसी व्यक्त गरिन् ।

उनले अस्पतालको आफ्नो पहलमा ह्युमन मिल्क बैंक ‘अमृत कोष’को स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रका एक ऐतिहासिक थालिनेका रुपमा पाएको बताइन् । ‘दूध दान गर्नु पुरानो अभ्यासको रुपमा रहेको छ,’ उनले भनिन्, ‘अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको संकलन, प्रशोधन र भण्डारणले गरी आवश्यक पर्ने शिशुलाई वितरण गर्ने छ ।’

अमृत कोषको स्थापनाबाट नेपालका मातृ तथा शिशुमृत्यु दर घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनुका साथै स्तनपान महत्वबारे जनचेतना जगाउने विश्वास व्यक्त गरे । यस अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत स्वास्थ्य सेवा विशेष गरी प्रसूतिसम्बन्धी सेवालाई मुलुकका विभिन्न ठाउँमा पुर्‍याउन पहल गर्नु पनि प्रशंसनीय रहेको उनको भनाइ रहेको छ । अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उनले बताइन् ।

स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको उनको भनाइ रहेको छ । ‘स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुनेछ,’ उनले भने ‘नेपाल सरकारका सम्बन्ध संस्थाले यसतर्फ आवश्यक पहल र समन्यव गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।’

प्रतिक्रिया