बिहीबार, वैशाख १३, २०८१

वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग

नेपालखोज २०७९ भदौ ३ गते १६:१९

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसंग बर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ । भाद्र १ गते संघले ‘नेपालमा वैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सो कुराको माग गरेको हो ।

उक्त कार्यक्रममा स्वागत मन्तब्य दिँदै संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले बर्तमान परिप्रेक्षमा बौद्धिक सम्पत्तिको अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै विस्वव्यापी डिजिटल परिवर्तन हुँदै गरेको समयमा यो अत्यन्त महत्वपूर्ण तथा समसामयिक विषय रहेको र यस सम्बन्धी हाम्रो कानुनमा पनि समय सापेक्ष सुधार हुनु आवश्यक रहेको बताए भने उक्त विषयमा प्रभावकारी कानुनको अभावमा नेपालमा विदेशी लगानको आगमनलाई सुनिस्चित गर्न चुकेको बताए ।

यसैको अभावमा नेपालमा संचालित स्थापित बिदेशी लगानीका कम्पनीहरुले पनि समस्या भोग्नुपरेको तथा यस बौद्धिक सम्पत्तिको कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा हामीले विदेशी लगानी आकर्षित गर्न नसकीरहेको बताउँदै सम्बन्धी प्रभावकारी कानून ल्याउन माग गरे । बौद्धिक सम्पत्तिको कानूनकै कमजोरीको कारण नेपालमा संचालित विदेशी कम्पनीहरुमात्र नभई स्वयं हाम्रै कतिपय नेपाली कम्पनीहरुलाई समेत हामीले प्रबद्धृन र प्रोत्साहन गर्न सकीरहेका छैनौं त्यसकारण पनि यो बौद्धिक सम्पत्तिको कानूनको तड्कारो आवश्यकता रहेको बताए ।

बौद्धिक सम्पत्ति भन्दा यसभित्र ट्रेडमार्क, कपीराईट, पेटेन्ट डिजाईन लगायतका बिषयहरु समेत समेतिएर आउने तथा यो एक बृहत बिषय भएको परिप्रेक्षमा पनि यो सम्बन्धी कानून बिश्व बौद्धिक सम्पत्ति संगठन तथा अन्य संस्थाहरुले तय गरेका मापडण्ड अनुरुप गर्न आवश्यक रहेकोमा समेत जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको सम्भावना र अवसर हुंदा हुंदै पनि बौद्धिक सम्पत्तिको संरक्षणका लागी समय सापेक्ष कानूनको अभावमा लगानी भित्रिन नसकेको बताउंदै पछिल्लो समय तयार भएको बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी बिधेयकको मस्यौदामा सरकारले सरोकारवाला निकायसंग छलफल गर्नुपर्ने बताए ।

यसमा जनचेतनामा पनि कमी रहेको हुनाले प्रचार प्रसारमा पनि ध्यान पुर्याउनु आवश्यक रहेको उनको भनाई थियो । उपाध्यक्ष ढकालले मस्यौदा लगानी मैत्री र लगानी भित्र्याउन सहज हुने किसिमको हुनुपर्नेमा पनि जोड दिँदै सरोकारवाला पक्षसंग छलफल र समन्वयमा कानूनहरु ल्याउँदा त्यस्ता कानूनहरु त्था नियमहरु प्रभावकारी हुनुका साथै कार्यान्वयनमा पनि सहज हुने सबैलाई लाभदायी हुने विचार ब्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून भए पनि समय अनुसार त्यसमा परिमार्जन हुन नसक्दा हाल देखा परेका बौद्धिक सम्पत्ति सम्बन्धी समस्या समाधान हुन नसकेको बिचार व्यक्त गरे । प्रतिलिपी अधिकार, पेटेन्ट, डिजाईन तथा ट्रेडमार्क जस्ता बौद्धिक सम्पत्ति सम्बन्धी बिषयलाई हाम्रो संविधानमै ब्यबस्था गरिदएपनि जनचेतना र यस सम्बन्धी कानुनको अभावमा बौद्धिक सम्पत्तिका मुद्दाहरु ओझेलमा पर्ने गरेको बताए ।

बिदेशी लगानीकर्ताहरुले कुनैपनि देशमा लगानी गर्न पहिले त्यहां आफ्ना बौद्धिक सम्पत्तिलाई पूर्व शर्तको रुपमा लिने भएकाले पनि यसलाई महत्वपूर्ण पक्षको रुपमा लिनु पर्नेर यसो भयो भने प्रबिधि हस्तान्तरण, पूर्वाधारमा लगानी र साना तथा मझौला उद्योगको प्रबद्र्धन गर्न सहज हुने तर्फ सबैको ध्यानाकर्षण गराउंदै धेरै बिदेशी कम्पनीहरुले नेपालमा लगानी गर्न इच्ता देखाएको भएपनि बौद्धिक सम्पत्ति सम्बन्धी कानून नहुँदा लगानी आउन समस्या भएकोले समयमा नै यस सम्बन्धी मस्यौदा फास्ट ट्रयाकबाट ल्याउन सरकारसंग माग गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि ब्यापार घाटा कम गर्नको लागी सरका तथा नीजी क्षेत्रका समन्वयमा काम गर्न सकिने भएकोले सरकारले निर्यातमूखी नीतिमा जोड दिनुपर्ने भन्दै बौद्धिक सम्पत्ति सम्बन्धी कानून समय सापेक्ष हुनुपर्नेमा जोड दिए । उनले ऐनको अभावमा नेपालमा उत्पादित बस्तुको ब्राण्डिंग गरेर निर्यात गर्न कठिन भएको र यसका लागी कानून आवश्यक भएको बताए । छलफलमा लामो समय देखी बौद्धिक सम्पत्ति सम्बन्धी कानूनी पैरवी गरीरहेका बरिष्ठ अधिबक्ता सज्जनवरसिंह थापाले नेपालमा ५७ बर्ष पूरानो कानूनको अभ्यास भईरहेकोले गर्दा पछिल्लो समय उत्पन्न भएका बौद्धिक सम्पत्तिका मुद्दाहरुको निराकरण तथा समाधान हुन नसकेको बताए । बिश्वमा सूचना तथा प्रबिधिको बिकासमा तिब्रता आएसंगै बौद्धिक सम्पत्तिको महत्व बढेर गएको भएपनि नेपालमा भने समय सापेक्ष कानूको निर्माणमा सरोकारवाला निकायले गम्भिर नभएको कारण पूरानै कानून कार्यान्वयनमा रहेको बताए ।

नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीहरुको प्रतिनिधित्व गर्दै सूर्य नेपालका प्रबन्ध निर्देशक रबिकुमार रायभरमले आफ्नो प्रस्तुनि दिंदै बिश्वमा कूल अर्थतन्त्रको एक तिहाई भाग बौद्धिक सम्पत्तिमा आधारित भएपनि नेपालमा भने समय सापेक्ष कानून तर्जुमा हुन नसक्दा यो क्षेत्रले गति लिन नसकेको भन्दै उनले नेपालमा फितलो कानून र समय सापेक्ष कानून हुन नसक्दा बिश्वमा ख्याति कमाएका ब्राण्डको नाम राखेर ब्यापार ब्यबसाय संचालन हुने गरेकोछ यसले गर्दा नेपालमा भित्रिने लगानी तथा उद्योगहरु प्रभाबित भएका छन् भने लगानी आउनमा समस्या देखिएको बताए ।

कार्यक्रममा किरण सुजका अध्यक्ष तथा प्रबन्ध निर्देशक अमिर प्रताप राणाले बौद्धिक सम्पत्ति संरक्षणमा सरकारले प्रभावकारी र समय सापेक्ष कानून तर्जुमा नगर्दा नेपालमा भएका उद्योगहरुले पनि समस्या भोगीरहेको बताए । उनले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको कानून फितलो हुनुका साथै समय सापेक्ष छैन जसले गर्दा नेपालमा नै चल्तीमा रहेका स्थापित ब्राण्डको नक्कल भईरहेको छ भने यसैको कारण उद्योगीले आफ्नो ब्यबसाय बिस्तारमा लगाउनुपर्ने श्रोतलाई मुद्दा मामिलामा खर्चन परेको आफ्नो तीतो यथार्थ ब्यक्त गरे । उद्योगीहरुको धारणा र समस्या सुने पश्चात उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडुले बौद्धिक सम्पत्ति संरक्षणका लागी सरकार समय सापेक्ष कानून निर्माण गर्न सकारात्मक रहेको बताउंदै पूरानो कानूनलाई परिमार्जन गर्दै नयां कानूनले उद्योगीका समस्या समाधान हुने गरी कानून निर्माण गर्न सरकार गम्भीर रहेको बताउंदै यसमा सरोकारवालाहरुसंग पनि छलफल गरिने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा धन्यवाद मन्तब्य दिंदै संघका उपाध्यक्ष तथा डाबर नेपालका ब्यापार प्रमुख हरकिरत सिह बेदीले अहिलेको डिजिटलाईजेशन तर्फ अग्रसर बिश्वमा यो बौद्धिक सम्पत्ति सबैको चासो र प्रमुख सरोकारको बिषय भएको भन्दै यो एक अत्यन्त महत्वपूर्ण बिषय रहेको र यसले कुनैपनि देशमा आउने बिदेशी लगानीको बहाव र मात्रालाई निर्दिष्ट समेत गर्ने हुनाले नेपाल एक लगानीको लागि अत्यन्त उपयुक्त गन्तब्य हुंदै पनि किन बिदेशी लगानी अपेक्षाकृत रुपमा आई राखेको छैन भन्ने तर्फ सबैले बिचार पुर्याउन आग्रह गर्दै बौद्धिक सम्पत्तिसंग सम्बन्धित प्रभावकारी कानून आउने आशा ब्यक्त गरे ।

प्रतिक्रिया