शनिबार, जेठ ५, २०८१

नेप्से २,०६८.२६ अंकमा, सातामा १० अर्ब ५० करोडको सेयर कारोबार

नेपालखोज २०७९ भदौ ४ गते ११:४०

काठमाडौं । यो साता नेप्से दुई हजार ६८ दशमलव २६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ४ सय दशमलव ८ अंकमा पुगेको छ । जसअनुसार सातामा २ सय २७ कम्पनीको एक लाख ९२ हजार ४ सय ७७ पटकको कारोबारमा २ करोड ५५ लाख ९१ हजार १ सय २३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम १० अर्ब ५० करोड ५० लाख ७३ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ । नेप्सेका अनुसार यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैयाँले कम हो ।

गत साता भने नेप्सेमा २२३ कम्पनीको २ लाख ७ हजार ४ सय ७३ पटक सेयर कारोबार भएको थियो । जसअनुसार ३ करोड २ लाख १९ हजार ४ सय ५३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १२ अर्ब ४ करोड २० लाख ९८ हजार ९ सय ७७ रुपैयाँ पुगेको थियो । नियमित कारोबारका लागि यो साता नेप्से पाँच कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो, तेस्र्रो र चौथो दिन नेप्से घटे पनि दोस्रो र पाँचौं दिन भने नेप्से बढेको थियो ।

पहिलो दिन २७ दशमलव ९२ अंकले घटेर २ हजार १० दशमलव ९२ अंकमा झरेको नेप्से पाँचौं कारोबार दिन २७ दशमलव ५६ अंकले बढेर २ हजार ६८ दशमलव २६ अंकमा पुग्न सफल भएको थियो । यीबाहेकका बाँकी दिनहरूमा भने एक कार्य दिन नेप्से बढेर बाँकी दिनहरूमा घटेको थियो ।

यसैगरी पहिलो दिन ४ दशमलव ७६ अंकले घटेर ३ सय ८६ दशमलव ९० अंकमा झरेको सेन्सिटिभ इन्डेक्स पाँचौं कारोबार दिन भने ५ दशमलव ४१ अंकले बढेर ४ सय दशमलव ८ अंकमा पुग्न सफल भएको थियो ।

यो साता शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया