आइतबार, जेठ ६, २०८१

ब्याटल एपिसोड २ : नतिजा बालेन्द्रको हात लागेपछि मैदानमा महेश बस्नेत !

संगम ढकाल २०७९ भदौ १० गते १८:४९

काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेत नक्साविपरीत बेसमेन्ट पार्किङमा निर्माण भएका संरचना हटाउने काठमाडौं महानगरपलिकाको एक्सनप्रति असन्तुष्ट देखिएका छन् । उनले मेयर बालेन्द्र शाहलाई फेसबुकमा दुई/चार सय फ्यान भएकै भरमा नमात्तिन सुझाव दिएका छन् ।

महानगरले अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि बस्नेतले बिहीबार आक्रोश भावमा मेयर बालेन्द्रलाई लक्षित गरेर एक स्टयाट्स सार्वजनिक गरेका थिए । केही समयको अन्तरालमा दोस्रो स्टयाट्स राखे । जसमा नेता बस्नेत मेयरमाथि बढी उत्तेजित देखिएका छन् । उनले बेसमेन्टमा रहेका अवैध संरचना खाली गर्ने महानगरको कदमप्रति तुच्छ टिप्पणी गरेका छन् । साथै डोजर चलाएर ध्वंश गरेर आफूलाई हिरो नठान्न मेयर बालेन्द्रलाई सुझाएका छन् ।

कसरी सुरु भयो महेश-बालेन्द्रको ब्याटल ?
काठमाडौं महानगरले हिजो (बिहीबार) बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बेसमेन्ट पार्किङ मिचेर बनाएको अवैध संरचनामा डोजर चलायो । मेयर बालेन्द्र र कम्प्लेक्सका सीईओ द्विराज शर्माबीच नाक्सा विषयमा सामान्य विवाद भयो । कम्प्लेक्सले नक्सा दिन नमानेपछि मेयर बालेन्द्र त्यहाँबाट निस्किए । यसैबीच सीईओ शर्मा एमाले शीर्ष नेता निकट रहेको तस्बिर सामाजिक सन्जालमा भाइरल भयो ।

सीईओ शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली, महेश बस्नेतलगायत अन्य शीर्ष नेतासँग लिएको फोटो भाइरल भयो । उनले महानगरको एक्सनमा कानुनी प्रभाव पार्न सक्ने आशंका बढेपछि मेयर बालेन्द्र नक्सा र डोजर लिएर पुनः अल्फाबिटा पुगे । योपटक सीईओ शर्माले आफ्नो गल्ती स्वीकार गरे । सामान खाली गर्न महानगरसँग समय मागे । महानगर एक्सनमै उत्रने अडानमा पछि हटेन । जति लफाडाबाजी भए पनि डोजर चल्यो । अल्फाबिटाले बनाएको अवैध संरचना महानगरले भत्कायो ।

अल्फाबिटामा डोजर चलेपछि संयमता गुमाउँदै पूर्वमन्त्री बस्नेतले मेयरलाई लक्षित गर्दै स्टयाट्स राखे । जसमा उनले मेयरलाई लक्षित गरी प्रश्न राखेका थिए, ‘सीईओ हामीनिकट भएका कारण अल्फाबिटामा डोजर चलाएको हो ?’ सँगै आफू र सीईओले काँध जुधाएर बसेको तस्बिर पनि सार्वजनिक गरेका थिए । यस स्टयाट्समा बालेन्द्रले स्यावेज जवाफ दिए । ‘फोटो त मसँग पनि खिच्नुभएको छ । कानुनविपरीत बनाइएका संरचना भत्काइएको हो ।’ उनले पनि सीईओ शर्माले आफूसँग खिचाएको तस्बिर राखे । साथै कमेन्टमै एक प्रश्न राखे तपाईंको घरको नक्सा पास छ छैन ? यही प्रश्नलाई लम्बाएर नेता बस्नेतले बालेन्द्रको कदमप्रति तुच्छ टिप्पणी गरेका छन् । अर्थात् नेता बस्नेतले यसैलाई इस्यु बनाए ।

पूर्वमन्त्री बस्नेतले फेसबुक स्टयाट्समार्फत मेयर बालेन्द्रमा सबैको घरको नक्सा हेर्ने भूत चढेको अरोप लगाएका छन् । ध्वंस पारेर हिरो बन्ने भ्रममा नपर्न सुझाव दिँदै उनले स्ट्याट्स लेखे, ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगें बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईंलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला । तपाईंलाई भत्काउने र ध्वंश गरेर हिरो हुन्छु भन्ने लागेको होला । हाम्रोतिर ध्वंश होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला । अनि दुई/चार सय फेसबुके फ्यान भए भनेर नमात्तिनू विगतका यस्ता दुई-चार सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नैपर्ने भएको छ । गाली-गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका विरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला ।’

यस स्टयाट्समा मेयर बालेन्द्रले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

मेयर बालेन्द्रको दोस्रो ब्याटल
काठमाडौं महानगर प्रमुख बनेपछि बालेन्द्र शाह विवादमा निरन्तर पर्दै आएका छन् । सामाजिक सन्जालमा उनको बारेमा राम्रै टिप्पणी हुने गरेको छ । सकारात्मक र नकारात्मक दुवै । फोहोर व्यवस्थापन र बेसमेन्टका अवैध संरचना खाली गर्ने क्रममा बालेन्द्रमाथि दुई व्यक्ति सामाजिक सन्जालमा खुबै चिढिए । उनीहरुकै स्ट्याट्समा बालेन्द्रको एउटै कमेन्ट भारी बन्यो ।

त्यसपछि उनीहरु स्ट्याट्समा बर्बराउन लागे । बालेन्द्रविरोधी स्ट्याट्सको वर्षा गरउँदै छन् । ती दुई व्यक्ति हुन् धरानका मेयर हर्कराज राई र पूर्वउद्योगमन्त्री महेश बस्नेत । जसलाई बालेनका समर्थकले ब्याटल भन्ने गरेका छन् । बालेन्द्रको पहिलो ब्याटल धरानका मेयर हर्कराज राईसँग पर्‍यो । मेयर राईले काठमाडौं महानगरको फोहोर व्यवस्थापनको विषयमा धरातल नबुझी नानाथरी स्ट्याट्स लेखेका थिए । पछि महानगरले फोहोर उठायो । मेयर राईले मेरै स्ट्याट्सको कारण फोहोर उठ्यो भनेर सामाजिक सन्जालमा दाबी गरे । फोहोर मात्र होइन तपाईंकै लौरो चिह्‌न लिएर मैले चुनाव जितेको भन्दै बालेनले सभ्य र मिठो व्याङ्‌ग्य गरे । बालेन्द्रको यो कमेन्टले हर्क चिढिनु चिडिए । बालेन्द्र र हर्क दुवै स्वतन्त्र मेयर हुन् । दुवैको चुनाव चिह्न एउटै ‘लौरो’ । बालेन्द्रको लोभलाग्दो चुनावी प्रचारले हर्कलाई चुनाव जित्न सहयोग गरेको केही राजनीतिक विश्लेषको दाबी छ । अन्तयमा बालेनसँग चिडिँदा हर्ककै लोकप्रियता खस्कियो । अझै बेला मौकामा बालेन्द्रविरुद्ध बर्बराउछन् हर्क ।

बालेनको दोस्रो ब्याटल भने हेभीवेटसँग पर्‍यो । उनी थिए पूर्वउद्योग मन्त्री महेश बस्नेत । सायद आफूनिकट व्यक्तिको कम्प्लेक्समा डोजर चलाएपछि बस्नेतको नराम्ररी ‘इगो हट’ भएछ । फलस्वरुप बस्नेतले फेसबुकमा शब्दवाण चलाउन सुरु गरे । कम्प्लेक्सका अवैध संरचना हटिसकेको थियो । त्यसैले यो ब्याटलको अर्थ थिएन । तर उनले प्रारम्भ गरेको ब्याटललाई एक्सनपछिको रियाक्सन मान्न सकिन्छ । बेतुकमा पूर्वमन्त्री अझै बरबराउन छाडेका छैनन् । झिसमिसे हुनुभन्दा अघि मेयरलाई फलाकेको स्ट्याट्सले भूकम्प ल्याएको दाबी गर्दै फेरि बर्बराएछन्, ‘कति कमजोर धरातलमा टिकेका रहेछौं नव उदारवादी, मवादी र सस्तो लोकप्रियतावादी साथी हो । मेरो एउटा सानो स्टयाट्सले नै भूकम्प गयो त ।’

के भूकम्प गएकै हो त ? सायद अल्फाबिटामा (बानेश्वर) बिहीबार ४ बजेतिर गएको भूकम्पको परकम्प सूर्यविनायकमा शुक्रबार बिहान (करिब २ बजे) गएको हुनुपर्छ । कति रेक्टर स्केलको हो ? कति हल्लायो पूर्वमन्त्री ज्यूलाई ? फेरि परकम्प आउने सम्भावना कति छ ? कि महाभूकम्प नै आउँछ ?

प्रतिक्रिया