बिहीबार, चैत १५, २०८०

मिथिलामा जितिया पर्वको तयारी

नेपालखोज २०७९ भदौ २७ गते ११:३८

महोत्तरी । मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै उनीहरुले जितियाको चर्चा र तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ । यसपालिको पितृपक्ष सोमबार नै प्रारम्भ भइसकेको छ ।

महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै बर्तालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।

अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा) पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सन्तानको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो ।

यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरिउञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । पहिले सन्तान (छोरा-छोरी) को कल्याण कामनार्थ गरिँदै आइएको यो व्रत पछिपछि पुत्रका नाममा हुन थालेको सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएकी जलेश्वर २ का साधना बर्मा बताउँछन् ।

यसपालि यो व्रत तिथिको भोग घटबढले आउने आगामी असोज १ गते परेको छ । आगामी शनिबार मध्याह्नलगत्तै अष्टमी तिथि लाग्ने हुँदा शुक्रबार मध्यरातपछि शनिबार बिहानै दही, चिउरा ‘ओगटन’ (दर) खाएर बर्तालुले निराहार व्रत सुरु गर्नेछन् । निराहार व्रत बस्ने महिलाले एक अहोरात्र कटाएर नवमी तिथि एक घडी कटाएपछि व्रत समापन गर्नेछन् । यसपालि आइतबार मध्याह्नपछि नवमी तिथि प्रारम्भ हुने हुँदा सो दिन सूर्यास्तपछि व्रत समापन गर्न सकिने जनाइएको छ ।

सामान्यतया उदाउँदो सूर्यका बेला समापन गरिने यो पर्व यसपालि भने सूर्यास्तपछि हुने भएको छ । व्रतमा एक अहोरात्र कटाउन पर्ने विधानले यसपालि जितिया व्रत ३६-३७ घण्टाको हुने ब्राह्मण बताउँछन् । कठोर विधानको यो व्रतको महिमा जनजिब्रोमै रहने गरेको मिथिला संस्कृति र परम्पराका ज्ञाता बर्दिबास नगरपालिका-२ का महेशकुमार झा बताउँछन् ।

भङ्गाहा नगरपालिका-५ स्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम यादव भन्छन्, ‘सन्तानको सौर्य वृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ ।’

सन्तानको कल्याण र सौर्य वृद्धिको कामनासहित पुत्रवती मिथिलानीले यस पर्वमा दिवंगत पितृ रिझाउन व्रत बस्ने परम्परा रहेको छ । यस व्रतमा पुरुषहरूले पितृ पक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूले पनि दिवंगत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको पछिल्ला २० वर्षदेखि जितिया व्रत बस्दै आएकी महोत्तरी जिल्लाको भंगाहा नगरपालिका-४ थारूटोल बनराकी ४० वर्षीया रासोदेवी थारू बताउँछिन्।

पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ्य देखाएर व्रत संकल्प गरिन्छ । बर्तालुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द-आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्ध’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरूको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।

मिथिला लोक संस्कृतिको अभिन्न अंग मानिँदै आइएको यो पर्वबारे अब पछिल्लो पुस्ताले बहस र तर्क वितर्क भने गर्न थालेका छन् । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्य वृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्ताले बढाउँदै लगेका छन् ।

पर्वको महत्ता र गरिमालाई अझ मजबुत बनाउन अब सन्तानका लागि भनेर व्रतको कामना गर्ने परम्परा बसाल्न पर्ने महिला जागरण क्षेत्रमा क्रियाशील रहँदै आएका अधिकारकर्मीको भनाइ छ । वास्तवमा पहिलेका आमाहरूले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर घुसाइएको बर्दिवास नगरपालिका ९ की सामाजिक, राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउँछिन् । आफूले पछिल्ला २६ वर्षदेखि सुरु गरेको यो पर्व ‘पुत्र’का लागि मात्र नभएर सन्तानको कल्याणका लागि गर्दै आएको दिपीयाले बताइन् ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन् ।

राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको हुनसक्ने जलेश्वर नगरपालिका-६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउँछन् । यसक्षेत्र (मिथिला) का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा तीजजस्तै महिलाका लागि पछिल्ला चार वर्षयता मधेस प्रदेश सरकारले बिदा दिँदै आएको छ । -रासस

प्रतिक्रिया