बुधबार, वैशाख ५, २०८१

आपराधिक कार्य रोकथाम र नियन्त्रण गर्न विशिष्टिकृत तालिम आवश्यक छ : गृहमन्त्री खाण

नेपालखोज २०७९ असोज ७ गते १६:४६

काभ्रेपलाञ्चोक । गृहमन्त्री बालकृष्ण खाणले समाजमा नयाँनयाँ अपराध र आपराधिक प्रकृतिहरूको विकास भइरहेको र शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको दायरा समेत फराकिलो हुँदै गइरहेको अवस्थामा यस्तो परिवेश र परिस्थितिसँग जोडिएर आउने सुरक्षा र आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू प्रदान गर्न आवश्यक रहेको बताएका छन् ।

भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतिस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य सुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उक्त कुरा बताएका हुन् । समारोहमा गृहमन्त्री बालकृष्ण खाण तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना काभ्रेको भूमि पूजन गरेका थिए ।

सम्बोधनको क्रममा गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका अपराधहरूको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने र देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण र जटिल जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न गुणस्तरीय प्रशिक्षण महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षणको माध्यमद्वारा प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी समग्र प्रहरी संगठनको क्षमता विकास हुने र समष्टिगत रुपमा सिंगो संगठनको उत्पादकत्व वृद्धि हुने बताए ।

गृहमन्त्री खाणले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि निरन्तर सौहार्द र सुमधुर रहेको, दुवै राष्ट्रबीच राजनीतिक, व्यापारिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत हेरक क्षेत्रमा साथ र सहयोग रहेको चर्चा गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने कार्यमा भारतीय सहयोगमा निर्माण हुन गइरहेको परियोजनाले इँटा थप्ने कार्य गरेको उल्लेख गरे ।

यस परियोजना नेपाल प्रहरीको लागि एक गौरवशाली र महत्वपूर्ण परियोजनाको रूपमा रहेको बताउँदै उनले परियोजना सम्पूर्ण निर्माण कार्य समय सीमाभित्रै सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गरे । साथै यस परियोजना निर्माणमा सहयोगको लागि भारत सरकार, भारतीय दूतावास काठमाडौं, स्थानीय सरकार, सम्बद्ध अन्य निकाय तथा पदाधिकारीहरू र स्थानीयबासीलाई धन्यवाद दिँदै परियोजनामा आवद्ध निर्माण व्यवसायी कम्पनीलाई कार्य सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया