शुक्रबार, चैत १६, २०८०

बुद्धिजीवी संगठनको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति

नेपालखोज २०७९ असोज ८ गते १९:१३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध वैचारिक संगठन नेपाल बुद्धिजीवी संगठनले आगामी मङ्सिर ४ गतेका लागि तय भएको संघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर पाँच सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आज सम्पन्न केन्द्रीय समितिको बैठकले संगठनका संयोजक कृष्ण केसीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा निलकण्ठ तिवारी रहेका छन् । निर्वाचन परिचालन समितिमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका पदाधिकारी र सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य रहेका छन् ।

संगठनको केन्द्रीय कार्यालय टिमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धी कामको परिचालन गर्नेसमेत निर्णय गरिएको संयोजक केसीले जानकारी दिए ।

बैठकले निर्वाचन अघि आमजनसमुदायलाई माओवादी र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसहितको अपिल प्रकाशन गर्ने, माओवादी आन्दोलनका प्रमुख उपलब्धि नामक पुस्तिका परिमार्जनसहित पुनःप्रकाशन गर्ने, प्रदेश र स्थानीय तहमा निर्वाचन परिचालन समिति बनाउनेलगायत निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका सचिव एवं बुद्धिजीवी संगठनका इञ्चार्ज दिनानाथ शर्माले आसन्न निर्वाचनमा क्रान्तिकारी बुद्धिजीवीले जनतालाई वैचारिक दिशानिर्देश दिनुपर्ने बताए । आगामी मङ्सिर ४ गते हुने निर्वाचन सामान्य प्रकृतिको निर्वाचन नभई अग्रगमन र प्रतिगमनबीचको संघर्ष भएको उनको भनाइ थियो ।

प्रतिक्रिया