शुक्रबार, चैत १६, २०८०

पार्किङको चपेटामा पोखराको साइकल लेन

नेपालखोज २०७९ असोज ११ गते १७:५५

पोखरा । साइकलमैत्री सहर बनाउने उद्देश्यले पोखराको सडकमा बनाइएको साइकल लेन पार्किङको अतिक्रमणमा परेको छ । साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइपेलाइमा परेको देखिन्छ । पोखरा महानगरपालिकाले बनाएको जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड विपीचोक र महेन्द्र पुल क्षेत्रको साइकल लेनमा जथाभाबि पार्किङ गरेको भेटिन्छ ।

स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि पार्किङ समस्याले साइकल यात्रीलाई निरुत्साहित बनाएको छ । साइकल सिटी पोखराको परिकल्पना र महानगरको लगानीमा साइकल लेन निर्माण गरिएको साइकल लेन निर्माण उपभोक्ता समितिका संयोजक राजन गोंगजुले जानकारी दिए । साइकल लेन निर्माणका लागि पोखरा महानगले तीस लाख रुपैयाँ खर्चिएको संयोजक गोंगजुले बताए ।

महानगरले उपलब्ध तीस लाख रुपैयाँमा उपभोक्ता समितिले पाँच लाख ३० हजार उठाएर लेन बनाएको हो । उनकाअनुसार रातारात काम गरेर आयोजनाको काम सकाएको हो । पोखरादेखि हेम्जासम्मै पुर्याउने योजना भए पनि बजेट अभाव कारण नसकिएको उनले सुनाए । आगामी दिनमा पोखराभरी नै सडकको दुबै तर्फ लेन बनाउने योजना रहेको छ ।

पोखरा महानगरले जिरो किलोमिटरदेखि महेन्द्रपुलसम्म बनाएको लेनमा साइकल चलाउँदा पटक–पटक समस्या भाग्नु परेको साइकल यात्री विश्व तण्डुकारले बताए । ‘स्वास्थ्यका लागि हरेक बिहान नयाँ लेनमा साइकल चलाउँछु, साह्रै गाह्रो हुन्छ’, उनले भने, ‘जिरोबाट विपीचोकसम्म पुग्दा ठाउँठाउँमा सवारी पार्किङ गरेको भेट्छु ।’ साइकल लेनका बारेमा धेरैलाई ज्ञान नहुँदा सर्वसाधरण साइकल यात्रीले झनै समस्या झेलिरहेको उनको भनाइ थियो ।

साइकल सिटी पोखरामा अहिले दुई सय ५० भन्दा बढी साइकलयात्री आवद्ध रहेका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आवश्यकताका आधारमा बने पनि अव्यवस्थित बनेको प्रतिक्रिया दिए । -रासस

प्रतिक्रिया