शुक्रबार, वैशाख ७, २०८१

सुर्खेतबाट तीन हजार नौ सय खसी काठमाडौं पठाइयो

नेपालखोज २०७९ असोज १४ गते २०:०९

सुर्खेत । बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका तीनहजार ९५८ वटा खसी काठमाडौं पठाइएको हो । 

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेलामहिलाले उत्पादन गरेका खसीबोका काठमाडौंमा पठाएको ‘पशु वस्तुको मूल्य श्रृङ्खलामा आधारित सानाकिसानको संस्था सवलीकरण परियोजना’ का संयोजक पदमबहादुर दलामीले जानकारी दिए । उक्त परियोजना हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो । 

परियोजनामार्फत उद्यमी महिलाले उत्पादन गरेका खसीबोकाको न्यूनतम मूल्यसमेत निर्धारण गरिएको छ । जसअनुसार जिउँदो खसी प्रतिकिलो रु. ५०० देखि रु ५३० मूल्य तोकिएको छ । पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थ प्रमाणपत्रका आधारमा खसीबोका खरिद गरेर काठमाडौं पठाइएको पनि परियोजना संयोजक दलामीले जानकारी दिए ।

सुर्खेत जिल्लास्थित सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी, सफल, उपहार सामाजिक, भेरी किनारा सामाजिक, सम्झौता, लाटीकोइली र उत्तरगङ्गा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँ लक्षित खसीबोका बिक्री गरिरहेका छन् । सहकारीले दसैँतिहारको अवधिमा मात्र छ हजार ८०० खसीबोका बिक्री गर्ने लक्ष्य राखेको परियोजना संयोजक दलामीले जानकारी दिए ।

महिलालाई व्यावसायिक बाख्रापालनबाट आत्मनिर्भर गराउन कृषि तथा पशुपालन ब्यवसायमा सहकारीले सदस्यलाई वित्तीय सहयोग गर्दै आइरहेको छ । सहकारीले माछापुच्छ्रे बैङ्क, एभरेस्ट बैंक, आरएमडीसी, आरएसडीसी र राष्ट्रिय सहकारी विकास बैंकलगायत वित्तीय संस्थासँग समन्वय गरी सदस्यलाई सहुलियत कर्जा उपलब्ध गराउनथालेपछि सदस्य व्यावसायिक बाख्रापालन ब्यवसाय गर्दै आइरहेका छन् । 

परियोजनामार्फत प्राविधिक र बजारीकरणमा पनि सहयोग गर्दै आएको संयोजक दलामीले जानकारी दिए । परियोजनाले सहकारीको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउनुका साथै महिला सदस्यलाई बाख्रापालनसम्बन्धी तालिम पनि दिँदै आएको छ । सहकारीले संकलन केन्द्रमार्फत खसीबोकाको बजारीकरण गर्न थालेपछि उद्यमी महिलाले उचित मूल्य प्राप्त गरेको बताएका छन् । रासस

प्रतिक्रिया