बिहीबार, चैत १५, २०८०

बडादसैँसँगै बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

नेपालखोज २०७९ असोज १६ गते ९:००

नवलपरासी । बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरमस्थलमा पर्यटकको चाप बढेको छ । नवलपुरमा रहेका पर्यटकीय क्षेत्र त्रिवेणीधाम, मौलाकालिका, दाउन्ने, शाश्वतधाम, अकलादेवी, गङ्गेश्वरधाम, अमलटारी, कुमसोत, धौवादी, पोखरीताललगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

जिल्लाको नारायणी तटीय क्षेत्रसहित मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी, वन्यजन्तु अवलोकनका लागि पर्यटकको आगमन बढ्न थालेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए । यहाँ रहेका चारवटा सामुदायिक वनमा एकीकृतरूपमा वन्यजन्तु अवलोकनका लागि प्रबन्ध गरिएको छ । गैँडा अवलोकनका लागि अमलटारी क्षेत्र परिचित रहेको छ । वर्षाको समयमा सुनसान बनेको यस क्षेत्रमा दसैँसँगै पर्यटकको चहलपहल बढेको उनले बताए । ‘वर्षा पनि थियो, घुमफिरको समय सुरु भएको थिएन, अब दसैँसँगै घुमफिरका लागि आउनेहरू बढ्ने सङ्केत देखिएको छ’, उनले भने ।

नवलपुरका धार्मिक पर्यटकीय क्षेत्रमा खासगरी पर्यटकको उपस्थिति बढेको छ । जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मौलाकाली, त्रिवेणीधाम, दाउन्ने, शाश्वत धाम, अकला देवी, गलेश्वरधाममा पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्रबाहेक प्राकृतिक स्थान कुमसोत, झरना खोला, धौवादी, नारायणी तटीय क्षेत्रमा समेत आन्तिरक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

जिल्लाका पर्यटकीय क्षेत्रमा लगभग सबैजसो आन्तरिक पर्यटककै उपस्थिति हुने गरेको छ । चाडबाडमा घुम्ने संस्कृतिको विकास हुँदा आन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत सहयोग पुग्न थालेको छ । पछिल्ला केही वर्षबाट मुख्य चाड सुरु भएपछि हुने बिदाको अवसरमा घुम्ने संस्कृति विकास हुँदै जान थालेको छ । यसले पर्यटन क्षेत्रका व्यवसायीसमेत उत्साहित बनेका छन् । रासस

प्रतिक्रिया