शुक्रबार, वैशाख ७, २०८१

स्वाभिमान सहकारीले बनायो चार वर्षे रणनीतिक योजना

नेपालखोज २०७९ असोज १६ गते १०:१८

बागलुङ । स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले ४ वर्षे रणनीतिक योजना बनाएको छ । दुई दिने रणनीतिक योजना कार्यशालाको आयोजना गरी संस्थाले आगामी ४ वर्षका लागि रणनीतिक योजना निर्माण गरेको संस्थाका अध्यक्ष शिवकला थापाले जानकारी दिए ।

बहुउद्देश्यीय सहकारीको भावना अनुसार काम गर्नका लागि कार्ययोजना निर्माण गरी आगामी ४ वर्षमा ५ हजार जना शेयर सदस्यका बीचमा काम गर्ने गरी रणनीतिक योजना बनाएको अध्यक्ष थापाले बताए । चार वर्षे रणनीतिक योजनामा ५ करोड सेयर पूँजि, ४५ करोड वचत रकम, ४० करोड कर्जा लगानी, १ करोड जगेडा कोष र ५२ करोड कुल सम्पत्ती बनाउने लक्ष्य लिइएको छ ।

संस्था स्थापनादेखि हालसम्म खासै योजना थिएन, कार्यक्रम पनि त्यति बनाएका थिएनौ, संस्थाका सचिव लेख बहादुर खड्काले भने, ‘अबका दिनमा सहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनयुक्त बनाउनका लागि स्पष्ट योजना, कार्यक्रम र प्रतिवद्धताका साथ अगाडि बढ्ने लक्ष्य लिएका छौ ।’ सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक सहकारीहरुले रणनीतिक योजना निर्माण गरेर सदस्य लक्षित कार्यक्रम बनाउन आवश्यक रहेको अनुभूतिका साथ ४ वर्षे रणनीतिक योजना तयार गरिएको संस्थाका उपाध्यक्ष सूर्य बहादुर महतले बताए ।

रणनीतिक योजना कार्यशालामा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गरेका थिए । सहकारीलाई संस्थागत रुपमा सञ्चालनका लागि स्पष्ट योजना आवश्यक रहेको जिसीले बताए । संस्थामा हाल ७ सय जना शेयर सदस्य, १ करोड ५० लाख सेयर रकम, ६ करोड वचत रकम, ७ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष रेणु केसीले जानकारी दिएका थिए ।

प्रतिक्रिया