मंगलबार, वैशाख ११, २०८१

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसंघीय महासचिवको आग्रह

नेपालखोज २०७९ असोज १८ गते १५:२१

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

उनले भने, अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरुमा ठूलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरुले र विशेषगरी जी- ट्वान्टीका सदस्य राष्ट्रहरुले यस विषयमा ध्यान दिनुपर्छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरुले एजेण्डा बनाइरहेको बताउँदै ती एजेण्डामा जलवायु परिवर्तनलाई आवश्यक मात्रामा प्राथमिकतामा राख्न उनले आग्रह गरेका हुन् ।

इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६ देखि १८ तारिखसम्म विश्व जलवायु सम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ । सो सम्मेलनमा विश्वका विभिन्न देशहरुले जलवायु परिवर्तन सम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरु निर्धारण गरिरहेका बताइएको छ ।

संयुक्त राष्ट्रसंघले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरुलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ–आफना देशका बजेट एवं नीति तथा कार्यक्रमहरु प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो । आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा संयुक्त राष्ट्रसङ्घले विश्वका आफ्ना सदस्य देशहरुलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया