बिहीबार, वैशाख १३, २०८१

हिमपहिरोमा मृत्यु हुने पर्वतारोहीको संख्या १० पुग्यो, अझै १८ बेपत्ता

नेपालखोज २०७९ असोज १९ गते १८:४८

नयाँदिल्ली । भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परि १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वित्तीय’ हिमालको चुचुरोनजिक मङ्गलबार बिहान भएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी वेपत्ता भएका थिए ।

उनीहरूमध्ये चार जनालाई सोही दिन मृत अवस्थामा भेटिएको थियो । भारी हिमपात र वर्षाका कारण रातिमा खोजी असम्भव भएको थियो । यद्यपि भारतीय वायु सेना र स्थानीय विपद् एजेन्सीले उद्धार कार्यमा सहयोग गरिरहेका बताइएको छ ।

‘उद्धार टोलीले १० जनाको शव फेला पारेको छ,’ उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा भनेको छ । समुन्द्री सतहबाट करिब चार हजार ९०० मिटर (१६ हजार फिट) को उचाईमा रहेको हिमपहिरोबाट हालसम्म १४ जनाको उद्धार गरिएको छ भने पाँच जनाको उत्तरकाशीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी फुटेजमा उद्धार गरिएका धेरै आरोहीहरू शहरमा आइपुगेको र अधिकारीहरूको सुरक्षामा बिना कुनै सहायता हिँडडुल गरिरहेको देखिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीटरमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको मृत्यु भएको पुष्टि गर्नुभएको छ । विश्वको सर्वोच्च शिखर र नजिकैको मकालु हिमाल १६ दिनमा आरोहण गरी महिलाहरूतर्फको रेकर्ड बनाएका थिए ।

धामीले हिमपहिरोमा परि घाइते भएका र मृतकका परिवारलाई सरकारले तत्काल आर्थिक सहयोग गर्ने बताए । राज्य विपद् निकायका प्रवक्ता रिधिम अग्रवालले एएफपीलाई बताएअनुसार हिमपहिरो खसेपछि आरोहीहरू हिउको चिरामा फसेका थिए ।

नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट रहेका छन् । उद्धारकार्यमा सघाउन वायु सेनाका दुईवटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवालले एएफपीलाई जानकारी दिए ।

प्रतिक्रिया