रुमालले हतकडी छोप्दै सन्दीप लामिछानेलाई लगियो गौशाला हीरासत !

काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । उनी नेपाल फर्किएसँगै बिहीबार बिहान ११ बजेतिर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ । उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर गौशाला वृत्तको हीरासतमा राखेको हो ।
उनलाई प्रहरीले हतकडी लगाएर लगेको छ । सन्दीपको हतकडी लगाएको हात भने रूमालले छोपिएको थियो । त्यस्तै उनी मास्क र क्याप लगाएर आएका थिए ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो । भदौ ६ गते बिहान होटेलबाट निस्केका उनी सोही दिन टी-ट्वान्टी खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज गएका थिए । उनीमाथि प्रहरी वृत्त गौशालामा भदौ २१ गते बलात्कार गरेको भन्दै जाहेरी परेको थियो ।
प्रतिक्रिया