आइतबार, मंसिर १८, २०७९

पृथ्वी राजमार्ग सञ्चालनमा, ग्रामीण सडक अवरुद्ध !

नेपालखोज २०७९ असोज २० गते १६:०४

दमौली । दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण पृथ्वी राजमार्गका केही ठाउँमा पहिरो गए पनि अधिकांश खण्ड भने सञ्चालनमै छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङका केही ठाउँमा पहिरो गए पनि अन्य ठाउँको पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका ६, जरेखेतमा भने केहीबेरअगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । ‘उक्त ठाउँमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, अन्य ठाउँमा अवरोध छैन,’ उनले भने । वर्षाका कारण पहिरो जाँदा आजै धादिङको सुरुङमार्गनजिक बाटो अवरुद्ध भएको थियो । त्यस ठाउँको पहिरो पन्छाएर राजमार्ग नियमित गराइसकिएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनतर्फबाट धादिङ जाने बाटोमा कुनै अवरोध नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नारायणगढ-मुग्लिन सडकखण्ड पनि दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन-नारायणगढ खण्डको सत्रकिलोमा खसेको पहिरो हटाएर राजमार्ग यथावत् सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिए । ‘चितवनतर्फ र धादिङतर्फ जाने बाटो दुईतर्फी सञ्चालनमा छ,’ उनले भने ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने केही अवरोध नरहेको तनहुँ प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पहिरो खस्ने सम्भावना भएकाले पहिरो पन्छाउन तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आरके सुनारले जानकारी दिए । उनका अनुसार डुम्रे-बेंसीसहर खण्डमा पनि अवरोध छैन । ‘पानी निरन्तर परिरहेकाले पहिरो जान सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरेका छौं,’ उनले भने ।

ग्रामीण सडकहरु अवरुद्ध
दुई दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँका केही ग्रामीण सडक अवरुद्ध भएका छ्न् । निरन्तरको वर्षाका कारण पहिरो जाँदा दसैँमा सर्वसाधारणलाई समस्या भएको छ । पहिरोका कारण तनहुँको भिमाद नगरपालिका ९, पाथर्दी हुँदै जाने ग्रामीण सडक बगाएको स्थानीय शिवकुमार आलेले जानकारी दिए । भिमाद नगरपालिका १, २ र ३ लाई जोड्ने छोटो बाटो पहिरोका कारण अवरुद्ध भएको छ । ‘बाटो अवरुद्ध हुँदा दसैँमा टीका लगाउन जानेहरुलाई समस्या भएको छ,’ उनले भने ।

पहिरोका कारण ऋषिङका ग्रामीण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिका ७, साङखोल्सीमा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय दानबहादुर श्रेष्ठले जानकारी दिए । ‘पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ,’ उनले भने । घिरिङ गाउँपालिका ३, खिलाका दुई ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । गाउँपालिका कार्यालय र मानपुरको बीचमा गएको पहिरो हटाउन गाउँपालिकाले मेसिन लगाउन सुरु गरेको गाउँपालिकाका प्रेस संयोजक अन्जान परियारले जानकारी दिए । ‘पहिरो पन्छाएर बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,’ उनले भने ।

निरन्तर वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । बाढीपहिरो गई जनधनको क्षति हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । -रासस

प्रतिक्रिया