शुक्रबार, जेठ ४, २०८१

तिमी के भन्छौ मीनेन्द्र ?

किशोर नेपाल २०७९ असोज २४ गते ७:४०

मेरा अत्यन्त प्रिय र आत्मीय मित्र हुन मीनेन्द्र रिजाल । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा हामीले सँगै काम गरेका हौं । त्यो आन्दोलनलाई मध्यवर्ती भागतिरै छाडेर विद्यार्थी नेता मीनेन्द्र रिजाल र अर्का विद्यार्थी नेता प्रकाशशरण महत अमेरिकातिर लागे शिक्षा आर्जनका लागि । नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जन–आन्दोलनले देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्थापना गर्‍याे ।

त्यसको केही समयपछि उनीहरु नेपाल फर्किए : डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महतका रुपमा । यी दुवै नेता शेरबहादुर देउवाका निकट मानिन्थे त्यतिखेर । राजनीतिमा मीनेन्द्र प्रखर थिए । पूर्वी नेपालको कुलीन रिजाल परिवारका सदस्य मीनेन्द्र र नुवाकोट जिल्लाका सम्पन्न महत परिवारका प्रकाशलाई कांग्रेसको राजनीतिमा ‘एडजष्ट’ हुन त्यति कठिन भएन ।

रहँदा बस्दा प्रकाशशरण आफना दाजु रामशरण महतको राजनीतिबाट टाढिए भने मीनेन्द्र शेरबहादुर देउवाको समूहबाट अलग्गिए । मीनेन्द्र र प्रकाश, दुवैको राजनीति अप्ठेरोमा फलेको फर्सी जस्तो थियो । मीनेन्द्रको कर्मक्षेत्र मोरगमा आचार्य र कोइरालाका रुपमा चुनौतीका चाँग थिए भने प्रकाशका लागि आफनै दाजु रामशरण महत र निर्दलीय पंचायत र बहुदलीय प्रजातन्त्रकालमा समेत ‘अपरिहार्य’ बनेका अर्जुन नरसिंह केसी र उनका भाइहरुको सामना गर्नु सजिलो थिएन ।

यो पटक मीनेन्द्रले संसदीय टिकट पाएनन् । प्रकाशले समानुपातिकमा सुरक्षा खोजे । उनले नुवाकोटको राजनीतिमा अर्जुन नरसिंहको अपरिहार्यतालाई स्वीकार गरे । मीनेन्द्रको टिकट सुजाताले खोसिन् । उनको एकमात्र योग्यता स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी छोरी हुनु हो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको समयमा होस् वा त्यसपछि डा. मीनेन्द्र र डा. प्रकाश दुवैको राजनीतिक खूबी देखिएन । समयको एक सीमासम्म डा. मीनेन्द्र रिजाल शेरबहादुर देउवासँग थिए । त्यसपछि, उनी सुशील कोइरालाको पछि लागे ।

डा. प्रकाश शरण महतले शेरबहादुर देउवाको साथ अहिलेसम्म छाडेका छैनन् । यी दुवै नेतामा अनन्त राजनीतिक सम्भावना थिए । अमेरिकामा पढेका र पढाएका । देशमा राजनीति गरुन्जेल दुवै जुझारु थिए । अझ मीनेन्द्र त बीपी कोइरालाका पनि प्रिय थिए । यी दुवै नेतामा सम्भावना पूर्ण भएर पनि साहसको अभाव थियो । दुवैले न त पार्टी, सरकार र व्यवस्थामा सुधारका लागि दबाव सिर्जना गर्न सके न त राजनीतिक सुविधा लत्याउने आँट नै गरे ।

अन्ततः उनीहरुको आँखा अगाडि माओवादी आन्दोलन चर्कियो । यसको सामना र समाधानगर्ने साहस मीनेन्द्र र प्रकाशले मात्रै होइन, अरु युवा नेताले पनि देखाउन सकेनन् । देशको अवस्था अहिले पनि उस्तै छ । फरक यति हो कि अहिले राजतन्त्र छैन । सेना, पुलिस, साहू, महाजन, कर्मचारी र कुलीनतन्त्रको हैकम र दवदवा उस्तै छ । हामी यस्तो गणतन्त्रमा छौं जहाँका नेता भनाउँदाहरुले गणतन्त्रको महत्त्व नै बुझेका छैनन् । उनीहरु कुलीन वर्गको कमाराको हैसियतमा रहेकाछन । साँच्चै भन्ने हो भने, अहिले कांग्रेस, माओवादी र कम्युनिष्टका नेताहरु राजनीतिमा आफूले गरेको लगानी उठाउँदै छन् ।

एकथरी कम्युनिष्टले त पन्चायतकालदेखि नै राजतन्त्रबाट प्राप्त सुविधाको उपभोग गरेका हुन् । समाजवादी चिन्तक प्रदीप गिरी भन्ने गर्नुहुन्थ्यो, ‘अहिलेको समय लिंगोदर सभ्यताको समय हो । मानिस आफनो लिंग र उदरको चिन्तामा डुबेकोछ ।’ जे होस्, मीनेन्द्रले टिकट पाएनन् । व्यक्तिगत हिसावले मलाई यसमा दुःख लागेको छ । मन पनि खिन्न छ । उनले टिकट पाएको भएपनि गर्न त केही सक्दैनथे । कहिलेकही संसदको रोष्ट्रममा उभिएर दुईचार कुरा सुनाउँथे । त्यति हो । दुःखको कुरा हाम्रो पुस्ताले लोकतन्त्र पुनस्र्थापनाको त्यति लामो लडाइ लड्यो । यो लडाइमा सयौं साथीहरु शहीद भए । तर, देशमा चाहिएको जस्तो गुणात्मक परिवर्तन भएन । यो नै दुःखद कुरा हो । तिमी के भन्छौ मीनेन्द्र ?

प्रतिक्रिया