पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री

नेपालखोज २०७९ असोज २४ गते १७:०२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् ।

विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्कटमा परेको उल्लेख गर्दै उनले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए ।

आजदेखि सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताए अर्थमन्त्रीले बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नु नपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसैको उपयोग गरेर देशभित्रै थप अवसरको खोजी गर्न सकिने बताए ।

आफूले चालु आर्थिक वर्षको बजेटमा नै हाइड्रोजन र एमोनियाका बारेमा उल्लेख गरेको उनले जानकारी दिए । उनले कोइलाको स्थानमा ग्रीन हाइड्रोजनको प्रयोग गर्न सकिने र यसमा थप लगानी गर्दै काम प्रारम्भ गर्ने अवसर आएको स्पष्ट पारे ।

नेपालले अब विद्युत् बिक्री गर्नु नपर्ने बरु हाइड्रोजन र एमोनिया बनाएर बिक्री गर्न सकिने उनले उल्लेख गर्दै उनले यसमा लगानीको विस्तार, प्रविधिको खोज गर्ने बेला आएको बताए । पेट्रोलियम पदार्थको विकल्पका रुपमा मात्रै ग्रीन हाइड्रोजनलाई प्रयोग गर्न सकियो भने पनि ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने अर्थमन्त्रीको भनाइ छ । उनले समिटबाट प्राप्त हुने सुझावलाई सरकारले ग्रहण गर्ने र नीति निर्माणको तहमा समावेश गर्ने विश्वास दिलाए ।

उनले नेपालमा यससम्बन्धी कामको थालती गर्ने गरी काम अगाडि बढाउन आग्रह गर्दै त्यसका लागि सरकारको तर्फबाट विशेष सहयोग रहने बताए ।

प्रतिक्रिया