बेनी–जोमसोम सडकमा छ दिनपछि यातायात सञ्चालन

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।
पहिरो र बाढीका कारण असोज १८ गते रातिदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा आज साँझदेखि सवारी सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
आयोजनाका निरीक्षक इन्द्रसिंह शेरचनले पहिरो पन्छाएपछि सडकमा यातायात सञ्चालन हुन थालेको जानकारी दिए । म्याग्दीको बैसरी, नौनीबगर, जलथले, गुइठे, रुप्से र काभ्रेभिरमा पहिरो तथा बेगखोला, रुप्सेखोला र मुस्ताङको मार्फाखोलामा बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।
आयोजनाको डोजर परिचालन गरेर पहिरो पन्छाइएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनलगायत जनप्रतिनिधि आफ्नो क्षेत्रमा पहिरो पन्छाएर यातायात सञ्चालनमा खटिएका थिए ।
पानी पर्न छाडेपछि खोलामा बाढीको सतह घटेर यातायात सञ्चालन हुन थालेका छन् । बीच सडकमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा यात्रुले सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया