शनिबार, जेठ ५, २०८१

नेप्से १,८७० अंकमा, सातामा तीन अर्ब ८८ करोड २७ लाखको कारोबार

नेपालखोज २०७९ असोज २८ गते १२:४०

काठमाडौं । यो साता नेप्से १८ सय ७० दशमलव ६३ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६७ दशमलव १४ अंकमा पुगेर रोकिएको छ । सातामा दुई सय ३३ वटा कम्पनीहरुको ७६ हजार चार सय ९१ पटकको कारोबारमा एक करोड २२ लाख ४० हजार चार सय ११ कित्ता सेयर किनबेच भएका छन् ।

सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार पाँच सय ५३ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साता अर्थात दशै बिदा अघिको तुलनामा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २९ वटा कम्पनीहरुको ६५ हजार सात सय ३१ पटकको कारोबारमा ९२ लाख ८४ हजार एक सय २८ कित्ता सेयर किनबेच भएका थिए । जसबाट कुल कारोबार रकम दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार चार सय ९३ रुपैयाँ कायम भएको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो, चौंथो र पाँचौ दिन नेप्से बढेको थियो भने दोस्रो र तेस्रो दिन नेप्से घटेको थियो ।

जसमध्ये पहिलो दिन ४४ दशमलव ६२ अंकले बढेर एक हजार आठ सय ९८ दशमलव ३८ अंकमा पुग्न सफल भएको थियो । नेप्से अन्तिम कारोबार दिन पनि चार दशमलव १५ अंकले बढेर एक हजार आठ सय ७० दशमलव ६३ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन आठ दशमलव ७८ अंकले बढेर तीन सय ७२ दशमलव २१ अंकमा पुग्न सफल भएको थियो । अन्तिम कारोबार दिन पनि शुन्य दशमलव ९५ अंकले बढेर तीन सय ६७ दशमलव १४ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकाका बाँकी दिनहरुमा भने नेप्से घट्ने र बढ्ने क्रम यथावत रहेको थियो ।

यो साता नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोबार भएको छ । यसैगरी हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया