शनिबार, जेठ ५, २०८१

देवघाटका बोटे परिवारको निःशुल्क स्वास्थ्य बिमा

नेपालखोज २०७९ असोज ३० गते ६:४१

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरुवात गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो ।

गाउँपालिकाले वडा नम्बर ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बिमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुंवरले जानकारी दिए । यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बिमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ । ‘पहिलो चरणमा २७ परिवारको स्वास्थ्य बिमा गरेर बिमा कार्ड हस्तान्तरण गरेका छौ,’ उनले भने, ‘क्रमशः सबै परिवारको बिमा गरिनेछ ।’

गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन् । साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ । ‘सबै वडामा अल्पसङ्ख्यक परिवारको तथ्यांक संकलन भइरहेको छ,’ उनले भने ।

आर्थिक रुपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । गाउँपालिकाले अल्पसङ्ख्यक जातिको पहिचान गरी बिमा गर्नका लागि तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले सीसमान्तकृत तथा आर्थिक सामाजिक रुपले पछाडी परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको थापाले बताए ।

पाँच जनासम्म सदस्य रहेको परिवारको बिमाका लागि वार्षिक तीन हजार पाँच सयल रुपैयाँ शूल्क तिर्नुपर्छ । पाँच जनाभन्दा माथि भए प्रति सात सय रुपैयाँका दरले रकम बुझाउनुपर्ने प्रावधान छ । गाउँपालिकाले स्वास्थ्य बिमा गरिदिन थालेपछि अल्पसङ्ख्यक जातिका व्यक्ति खुशी भएका छन् ।

जिल्लाका अन्य स्थानीय तहले पनि विपन्न परिवारको स्वास्थ्य बिमा कार्यक्रम ल्याएका छन् । सदरमुकामस्थित व्यास नगरपालिकाले नगरवासीको स्वास्थ्य बिमा गरिदिने भएको छ । विपन्न नगरवासी र स्वास्थ्य बिमा नभएका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गर्न लागिएको हो । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन र बिमा गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाका तर्फबाट बिमा गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयको प्राथमिक तह अन्तर्गतका निश्चित वर्गका विद्यार्थीका अभिभावकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने विपन्न बालबालिकाका अभिभावकको स्वास्थ्य बिमा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन बिमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

आर्थिक रुपमा असहाय परिवारलाई स्वास्थ्य बिमामा सहभागी गराउने उद्देश्य सहित गाउँपालिकाले गत दुई वर्षदेखि स्वास्थ्य बिमामा सहयोग गर्दै आएको छ । आर्थिक अभावमा स्वास्थ्य बिमामा सहभागी हुन नसक्ने घरपरिवार छनौट गरी गाउँपालिकाले नै बिमा गरिदिने जनाइएको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको थापाले बताए । आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बिमामा सहभागी हुन सक्ने भएपनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बिमाबाट वञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए । ‘हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्छ, स्वास्थ्य बिमाका लागि रकम हाल्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बिमा गराइन्छ,’ उनले भने । -रासस

प्रतिक्रिया