आइतबार, जेठ ६, २०८१

ग्लोबल आईएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने

नेपालखोज २०७९ कार्तिक ७ गते १६:४५

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३ दशमलव ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ दशमलव ६ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १० दशमलव छ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको तीन प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश सेयर र १० दशमलव ६ प्रतिशतले हुन आउने करिब दुई अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तीन प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

कूल दुई खर्ब ८९ अर्ब निक्षेप तथा दुई खर्ब ७४ अर्ब कर्जा लगानी रहेको बैंकको मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले दुई सय ९० वटा शाखा, दुई सय ७३ वटा एटिएम, दुई सय ७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया