शनिबार, जेठ ५, २०८१

नेप्सेमा निरन्तर ओरालो, ११ खर्ब ९० अर्ब रुपैयाँले घट्यो

नेपालखोज २०७९ कार्तिक ८ गते १२:२२

काठमाडौं । सेयर बजार परिसूचक निरन्तर ओरालो लाग्दा यसको असर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरणमा परेको छ । यो अनुसार एक बर्षमा नेप्सेमा सुचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण ११ खर्ब ९० अर्ब ८६ करोड रुपैयाँले घटेको छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबा प्राप्त तथ्यांकलाई आधार मानेर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी प्रतिवेदन अनुसार २०७९ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड कायम भएको छ ।

२०७८ भदौ मसान्तमा भने यस्तो बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड रहेको थियो । सोही आधारमा २०७८ भदौ मसान्तमा २८ सय १२ दशमलव तीन अंकमा रहेको नेप्से सूचकांक २०७९ भदौ मसान्तमा ओरालो लागेर १९ सय १० दशमलव चार अंकमा खुम्चिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार २०७९ भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ३९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४५ वटा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ५७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ वटा लगानी कम्पनी, पाँच वटा होटेल, चार वटा व्यापारिक संस्था र तीन वटा अन्य समूहका रहेका छन् । २०७८ भदौमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय २० रहेको राष्ट्र बैंकको भनाई छ ।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६७ दशमलव छ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११ दशमलव एक प्रतिशत, लगानी कम्पनीको ६ दशमलव सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव तीन प्रतिशत रहेको छ । होटेलको हिस्सा एक दशमलव ६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शुन्य दशमलव चार प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दशमलव तीन प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ भदौसम्ममा सूचीकृत ६ अर्ब ८१ करोड सेयरको चुक्ता मूल्य छ खर्ब ७१ अर्ब १४ करोड रहेको छ ।

प्रतिक्रिया