शुक्रबार, जेठ ४, २०८१

बेलायतलाई आसादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

नेपालखोज २०७९ कार्तिक ११ गते १०:२१

बेलायत । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उनले बेलायतलाई आशादायी भविष्य प्रदान गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आफ्नो सरकारी निवासमा उज्यालो पर्व मनाउँदै गरेको तस्विर सामाजिक सञ्जालबाट साझा गर्दै उनले सबैप्रति शुभकामना व्यक्त गरेका छन् । ‘आज राति टेन डाउनिङ स्ट्रिटमा भएको दीपावलीको कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित छु, आगामी पुस्ताले आफ्नो भविष्य आशाका साथ हेर्न सक्ने बेलाइत निर्माणका लागि सक्दो प्रयास गर्नेछु’ उनले ट्वीट गरेका छन् ।

राजनीतिक उथलपुथलका कारण लिज ट्रसले राजीनामा गरेपछि सात हप्तामा बेलाइतको तेस्रो प्रधानमन्त्री बनेका उनले गत मङ्गबार दिएका पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले पूर्ववर्ती सरकारका त्रुटी सच्च्याउन गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका थिए । गहिरो आर्थिक एवम् राजनीतिक सङ्कटको सामना गरिरहेको बेलायतलाई त्यसबाट मुक्त गर्न वाचा उनले गरेका थिए । सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत आएका सुनक भारतीय मूलका हुन् । उनका पिता स्थानीय चिकित्सक थिए भने उनकी उनकी आमाले दक्षिणी इङ्ल्याण्डमा फार्मेसी चलाएकी थिइन् । मातापिताको उक्त कामले उनलाई जनताको सेवा गर्ने इच्छा जागृत भएको हो ।

प्रतिक्रिया