शुक्रबार, जेठ ४, २०८१

सियोलमा भएकाे भागदौडमा १५१ जनाको मृत्यु, नेपाली नागरिक नपरेको जानकारी

नेपालखोज २०७९ कार्तिक १४ गते ८:४२

सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा शनिबार राति भएको भागदौडका क्रममा १५१ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नेपाली नागरिक नपरेको जानकारी प्राप्त भएको छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासले शनिबार रातिको भागदौडका कारण भएको दुर्घटनामा अन्य देशका आप्रवासी श्रमिक परे पनि नेपाली नागरिक नपरेको जनाएको हो ।

दूतावासका अनुसार शनिबार राति १५१ जना नागरिकको मृत्यु भएकोमा २० जना विदेशी श्रमिक परेका छन् तर नेपाली भने त्यो घटनामा परेका छैनन् । सोही क्रममा ८२ जना घाइते भएकोमा पाँच जना विदेशी श्रमिक छन् ।

दूतावासका श्रम काउन्सिलर रमा भट्टराईले दुर्घटना भएको स्थान पर्यटकीय क्षेत्र भएको र नेपालीको कार्यस्थल नभएकाले पनि नेपाली श्रमिक त्यहाँ पर्ने सम्भावना नरहेको जानकारी दिए । घटना भएको ठाउँ डान्स बार र क्लब भएकाले घटनामा कोरियाकै अधिकांश २०/२१ वर्ष उमेर समूहका युवा परेको र केही युरोपेली र अमेरिकी युवा परेको उनको भनाइ छ ।

प्रतिक्रिया