शुक्रबार, वैशाख ७, २०८१

तुलसीको मूल्य ?

डा . अरुणा उप्रेती २०७९ कार्तिक १८ गते ८:००

मेरी बज्यै प्रत्येक दिन बिहान तुलसीको मठलाई ढोगेर पानी हाल्नुहुन्थ्यो । प्रत्येक बेलुका तुलसीको मठमा दियो बाल्नुहुन्थ्यो । तुलसीलाई दियो बालेपछि मात्र उहाँको बेलुकाको भान्छाको काम सुरु हुन्थ्यो । म १०–११ वर्षको भएपछि मेरी आमाले तुलसीको मठमा छ बजे दियो बाल्ने जिम्मेवारी मलाई दिनुभएको थियो । कहिले–कहिले त दियो बाल्न झ्याउ लाग्थ्यो, ‘अरूलाई दिए पनि हुन्थ्यो नि यो काम’भनेजस्तो लाग्थ्यो तर अहिले बोध भएको छ– मेरी आमा र बज्यैले कति राम्रो संस्कार मलाई दिनुभएछ ।

थाहा नै नपाइकन तुलसीलाई आदर गर्ने मेरो बानी बसेछ । मेरी हजुरआमाले त्यही तुलसीको पत्ता टिपेर रुघाखोकी लाग्दा बेसार पानीमा उमालेर ख्वाउनुहुन्थ्यो । रुघा लाग्दा सन्चो हुन्थ्यो । अहिले लाग्छ, मेरी हजुरआमा त वातावरणविद् पो हुनुहुँदोरहेछ । हजुरआमाबाट पाएको यो बानी रुघा लाग्दा (तुलसी र बेसार खाने बेलामा पानी पिउने) अहिलेसम्म छुटेको छैन । पहिले–पहिले त मलाई अरूलाई ‘यस्तो खाउभन्दा लाज हुन्छ कि’जस्तो लाग्थ्यो र प्रायः वनस्पति र औषधिको विषयमा बोल्दैन थिएँ । तर अहिले जब विश्व स्वास्थ्य संगठनले पनि वनस्पतिका औषधि मूल्य र रैथाने ज्ञान आदिका बारेमा जानकारी दिन थालेको छ, अनि पो मैले कसरी वरिपरिका वनस्पतिबाट सूक्ष्म पोषण तत्व पाइन्छ र कसरी कतिपय समस्यामा यस्ता साधारण औषधिहरू प्रयोग गरेर स्वस्थ रहन सकिन्छ भनेर बढी जानकारी लिन पनि र आफूसँग भएको जानकारी अरूलाई दिन पनि थालेकी छु ।

प्राचीनकालमा एकजना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भने, ‘तिमीहरू सबै जङ्गलमा जाऊ र एक महिनापछि त्यस्ता वनस्पति लिएर आऊ जसको कुनै औषधीय महत्व छैन ।’ सबै विद्यार्थी जङ्गलमा गएर खोज्न थाले । एक महिनापछि प्रायः विद्यार्थीहरू हातमा कम्तीमा पनि दुई–तीनवटा वनस्पति लिएर फर्के र गुरुजीलाई भने, ‘यी वनस्पतिको कुनै औषधीय महत्व छैन । ’एकजना विद्यार्थी चाहिँ झण्डै पाँच दिन ढिला फक्र्यो र भन्यो, ‘गुरुजी ! म त वनस्पति खोज्दा–खोज्दा हैरान भएँ तर हरेक वनस्पतिमा कुनै न कुनै औषधि पाएँ ।’ गुरुजीले प्रसन्न भएर भने, ‘तिमी नै मेरा वास्तविक शिष्य रहेछौ । मेरो शेषपछि मेरो ठाउँ लिन योग्य छौ ।’

यो कथाबाट मैले सिकेको पाठ हो– संसारमा कुनै पनि वनस्पति कुनै न कुनै औषधीय गुण नभएको हुँदैन । हामीले हेर्न मात्र जान्नुपर्छ । तुलसीको पत्तालाई कुनै बेलुका टिप्नु हुँदैन भने जन विश्वास छ र हजुरआमाले केही गरी राती तुलसीको पत्ता टिप्नु प¥योे भने बोटलाई प्रणाम गरेर मात्र टिप्नुहुन्थ्यो । तुलसीको त्यत्रो आदर सायद तुलसीको औषधीय गुणले गर्दा भएको हो । ‘प्रत्येकको घरमा एउटा तुलसीको मठ हुनुपर्छ, त्यसलाई बिहान–बेलुका पूजा गर्नैपर्छ’ भने मान्यता मेरी हजुरआमाको थियो । उनका बुहारी र हामी नातिनातिनाहरूले पनि यो संस्कार राखेका छौँ र त्यसबाट प्रचुर फाइदा पनि लिएका छौँ । म तुलसीको बिहे संस्कार त गर्दिन तर मेरो बिहान तुलसीको दुई पत्ता चपाएर सुरु हुन्छ ।

म र मेरो परिवारको कसैलाई घाँटी दुख्यो वा रुघा लाग्यो भने तुलसीको पत्ता पहिलो औषधि हुन्छ र प्रायः दुई दिनको प्रयोगले धेरै समाधान पनि हुन्छ । तुलसीको झान्डै १७ प्रकार हुन्छन , मेरो घर मा राम / कृष्ण तुल्सी छ । म यात्रामा जाँदा पनि तुलसीको सुकाएको पत्ता त लिएर नै जान्छु । तुलसीलाई म एउटा औषधि र वातावरण संरक्षण गर्ने वनस्पति मान्छु । अहिले त तुलसीको चिया भनेर बजारमा बेचिन पनि थालेको छ । घरमा भएको तुलसीको बोटको वास्ता नगर्नेहरूले पनि तुलसीको चिया चाँहि किन्छन् । महँगो भएपछि तुलसीको उपादेयता मानिसहरूले बुझ्न थालेका छन् । व्यापारीकरण भएपछि वनस्पतिको मूल्य बढ्न जान्छ सायद ।

प्रतिक्रिया