आइतबार, जेठ ६, २०८१

कुन रुद्राक्ष धारण गर्नाले कस्तो फाइदा हुन्छ ?

नेपालखोज २०७९ कार्तिक २२ गते १०:०४

सनातन धर्ममा रुद्राक्षको विशेष महत्त्व छ । वास्तवमा रुद्राक्ष प्रकृतिले दिएको एक वरदान हो, जसलाई अर्थ, धर्म, काम र मोक्ष प्राप्तिमा लाभदायक मानिन्छ । शास्त्र अनुसार भगवान शिवको आँखाबाट झर्ने पानीको थोपाबाट रुद्राक्षको उत्पत्ति भएको हो । भनिन्छ रुद्राक्ष धारण गर्नेहरुमा भगवान् शिवको विषेश कृपा रहन्छ । अब हेरौं कुन रुद्राक्ष धारण गर्नाले कस्तो फाइदा हुन्छ ?

एक मुखी रुद्राक्ष

यसलाई दुर्लभ मानिन्छ । भनिन्छ यो रुद्राक्ष सबै उपलब्धिको दाता हो । यति मात्र होइन, जहाँ यो बस्छ, त्यहाँ अष्टसिद्धि र नवसिद्धिहरू बस्छन् । एक मुखी रुद्राक्ष धारण गर्नाले इन्द्रियमाथि विजय प्राप्त हुन्छ ।

दुई मुखी रुद्राक्ष

यो रुद्राक्ष अर्धनारीश्वरको रूप हो । यसलाई लगाउने व्यक्तिले माता पार्वती र शिव दुवैको आशीर्वाद प्राप्त गर्दछन् । दाम्पत्य जीवनको सुखका लागि यो रुद्राक्ष धारण गर्नुपर्छ ।

तीन मुखी रुद्राक्ष

तीन मुखी रुद्राक्ष अग्निको रूप हो । यसलाई धारण गर्दा अग्निदेव प्रसन्न हुनुहुन्छ। यसलाई लगाउँदा गति र ऊर्जा बढ्छ । यसका साथै विगतमा जानीजानी वा अनजानमा भएका सबै पापहरू नष्ट हुन्छन् ।

चारमुखी रुद्राक्ष

चारमुखी रुद्राक्ष चतुरान्द ब्रह्माको वास्तविक रूप हो । यसलाई धारण गर्दा ब्रह्माजीको आशीर्वाद प्राप्त हुन्छ । यो रुद्राक्ष धारण गर्ने व्यक्ति धनसम्पत्तिले सम्पन्न हुन्छ । यसका साथै यो रुद्राक्षलाई बुधको प्रतीक मानिन्छ जसका कारण यसलाई धारण गर्दा लेखन शक्ति र बोल्ने शक्ति बढ्छ ।

पञ्चमुखी रुद्राक्ष

यो रुद्राक्ष शिवको रूप हो । यो रुद्राक्ष नरहत्याको दोष हटाउन सक्षम छ । यो रुद्राक्ष धारण गर्नाले शुभ फल प्राप्त हुन्छ । यो ज्ञान र आध्यात्मिक विकासका लागि पनि महत्त्वपूर्ण मानिन्छ ।

छ मुखी रुद्राक्ष

छ मुखी रुद्राक्ष कार्तिकेयको मानिन्छ । यसलाई धारण गर्दा डरबाट मुक्ति मिल्छ र सुस्वास्थ्य प्राप्त हुन्छ । यसका साथसाथै वीर्य र शक्तिमा पनि वृद्धि हुन्छ । शत्रुको मारमा परेका व्यक्तिका लागि पनि यो रुद्राक्ष लाभदायक हुन्छ ।

सप्तमुखी रुद्राक्ष

सप्तमुखी रुद्राक्षलाई सप्तमातृकाको प्रतीक मानिन्छ। यसलाई धारण गर्नाले लक्ष्मी माता प्रसन्न रहनुका साथै स्वास्थ्य लाभ हुने बताईन्छ । यसबाट समाजमा मान-सम्मान बढ्छ भने शनिको साढेसती र अढैय्याबाट राहत मिल्छ।

अष्टमुखी रुद्राक्ष

अष्टमुखी रुद्राक्ष अष्टमातृकाको प्रतीक मानिन्छ । यो रुद्राक्ष माता गंगाको प्रिय रुद्राक्ष हो । यसलाई धारण गर्दा सबै प्रकारका पाप नष्ट हुन्छन् । यो रुद्राक्षलाई राहुको प्रतीक मानिन्छ । यसको धारण गर्दा राहुको सबै अशुभ प्रभावबाट जोगिन सकिन्छ ।

नौमुखी रुद्राक्ष

नौमुखी रुद्राक्षलाई नवशक्तिको प्रतीक मानिन्छ । यसलाई धारण गर्नाले देवी दुर्गा प्रसन्‍न भई आशीर्वाद प्राप्त हुनुका साथै यमराज र मृत्युको भय हटछ । यति मात्र होइन यो रुद्राक्षलाई केतुको प्रतीक समेत मानिन्छ । यो रुद्राक्ष धारण गर्नाले केतुको सबै अशुभ प्रभावबाट जोगिन सकिन्छ ।

१२ र १४ मुखी रुद्राक्ष

बाह्र मुखी र चौध मुखी रुद्राक्षलाई भगवान् र शिवको रूप मानिन्छ । यसलाई धारण गर्नाले घरमा धन र अन्नको कमी हुँदैन र सुख शान्ति कायम रहन्छ । यसलाई धारण गर्ने मानिसहरु आनन्दित हुन्छन् ।

प्रतिक्रिया