आइतबार, जेठ ६, २०८१

ग्रहणको समयमा के गर्ने के नगर्ने ?

नेपालखोज २०७९ कार्तिक २२ गते ५:००

काठमाडाैं । मिथुन, कर्कट, वृश्चिक र कुम्भ राशिका लागि यो पूर्ण चन्द्रग्रहण शुभ संकेत लिएर आएको छ भने बाँकी राशिका व्यक्तिले सावधानी अपनाउनुपर्ने देखिन्छ । ग्रहणकालमा सबै जलस्रोतको जल गंगा जल बराबर हुन्छ, ग्रहणको समयमा जप गर्दा शय गुणा फल मिल्छ । तसर्थ यस दिन ग्रहण अवधिमा २१ वटाभन्दा बढी माला जप गर्दा लाभ मिल्छ भने समय अनुसार एउटा मालाको जप गर्नाले समस्याबाट मुक्ति मिल्छ ।

ग्रहणको प्रारम्भदेखि मोक्षसम्म जप गर्नुपर्छ, ग्रहणको समयमा सुत्नु हुँदैन, खाना खानु हुँदैन, ब्रह्मचर्य पालन गर्नुपर्छ, मल तथा पिसाब विसर्जन गर्नु हुँदैन, चामल, चाँदी, मोती, सेतो वस्त्र, दूध, चिनी, मिठाई, सेतो चीजहरू दान गर्नुपर्छ , घरको मूर्ति तथा रूखबिरुवाहरू छुनुहुँदैन, मन्दिरको ढोका बन्द राख्नुपर्छ भन्ने परम्परागत मान्यता छ ।

ग्रहणको समयमा गर्नुपर्ने काम : खग्रास चन्द्रग्रहणको सुतक अवधिमा दान र जापदीको बिशेष महत्व छ । यो समयमा पवित्र नदी वा तालहरूमा स्नान गरिन्छ भने मन्त्र जप का साथ मन्त्र सिद्धि पनि गरिन्छ । यतिबेला गरिने तीर्थस्नान, हवन एवं ध्यान आदि शुभ कार्यहरू शुभ र लाभदायक साबित हुन्छन् । धार्मिक कर्ममा संलग्न व्यक्तिहरूले आफ्नो राशि अनुसार वा योग्य ब्राह्मणको परामर्शमा दान गर्नुपर्ने वस्तुहरू योग्य व्यक्तिलाई दृढ संकल्पका साथ दान गर्नुपर्छ ।

ग्रहणको समयमा प्रतिबन्धित काम : सुतक र ग्रहणको समयमा भगवान्को मूर्ति छुन निषेध गरिएको छ । यतिबेला खाने, पिउने, सुत्ने, नङ काट्ने, खानेकुरा बनाउने, तेल लगाउने आदि काम पनि निषेध गरिएको छ । यो समयमा झूटो बोल्नु, छल गर्नु, बेकारको कुरा गर्नु र पिसाब निकासबाट पनि जोगिनु पर्छ भनिएको छ । सुतक अवधिमा बालबालिका, वृद्धवृद्धा, अस्वस्थ महिला आदिले भोजन लिनु लाई वर्जित मानिएको छैन ।

सुतक प्रारम्भ हुनु अघि अचार, मुरब्बा, दूध, दही वा अन्य खाद्य पदार्थमा कुश राखिदिनु पर्छ ताकि ति खाद्य पदार्थहरू ग्रहणले दूषित नहुन । कुश नभएको खण्डमा तुलसीको पात पनि प्रयोग गर्न सकिन्छ । घरको सुख्खा खानेकुरामा कुश वा तुलसीको पात राख्नु आवश्यक छैन । चक्कु, सुई आदिलको कुनै काम गर्नु हुँदैन । यदि सम्भव छ भने हिड्नुहोस् राम्रो हुनेछ ।

प्रतिक्रिया