सोमबार, वैशाख २४, २०८१

बागलुङ प्रदेशसभा- १ मा पूर्वसहयात्रीबीच यसपाली प्रतिस्पर्धा

नेपालखोज २०७९ कार्तिक ३० गते १३:११

बागलुङ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नं १ को प्रदेशसभा (१) लाई विशेष चासोका रूपमा हेरिएको छ ।

यस क्षेत्रमा पूर्वसहयात्री अहिले प्रतिस्पर्धामा छन् । त्यसले गर्दा यहाँ निर्वाचन रोचक बन्ने देखिन्छ । गत स्थानीय तह निर्वाचन अगाडिसम्म एउटै पार्टीमा रहेर काम गरेका डिल्लीराम सुवेदी र नवराज पौडेलले यो निर्वाचनमा अलग–अलग पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् ।

सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधिछन् भने पौडेल कांग्रेस बागलुङको निवर्तमान सचिव थिए । अहिले नेकपा (एमाले)बाट उम्मेदवार बनेका छन् । सुवेदी भने सत्ता गठबन्धनको उम्मेदवार छन् । पौडेल एमालेका तर्फबाट एक्लै चुनावमा होमिएका छन् । स्थानीय तहको निर्वाचनमा पौडेल पत्नी उषा पौडेलले जैमिनी नगरपालिकाको उपप्रमुखको टिकट नपाएपछि श्रीमान्–श्रीमती एमाले प्रवेश गरेका थिए ।

कांग्रेसले टिकट नदिएपछि एमालेमा पुगेका पौडेललाई यसपटक चुनाव जित्न सकस छ । यस क्षेत्रमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बलियो शक्तिका रूपमा मानिदै आएको थियो । त्यसमाथि गठबन्धन हुँदा एमालेमा प्रवेश गरे लगत्तै टिकट पाएका पौडेललाई चुनाव जित्न सकस पर्ने नेताहरू बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा पौडलेकी श्रीमती उषालाई एमालेले जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएको थियो । तर उनी पराजित भए । पौडेललाई कांग्रेस बागलुङका सचिव हरिहर शर्माले पराजित गरेका थिए।

पौडेललाई शर्माले छ हजार पाँच सय ३७ मतान्तरले पराजित गरेका थिए। शर्माले नौ हजार एक सय ७३ मत प्राप्त गर्दा पौडेलले दुई हजार छ सय ३६ मत ल्याएका थिए। यस क्षेत्रमा बागलुङ नगरपालिका– १२, १३ र १४ नं वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका १८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार गठबन्धनले १६ हजार चार सय ६५ मत पाएको थियो भने एमालले सात हजार दुई सय २२ मत ल्याएको थियो ।

विसं २०७४ को निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा विजयी भएका थिए । थापाले कांग्रेसका प्रकाश शर्मा पौडेललाई छ हजार पाँच सय ४२ मतान्तरले पराजित गरेका थिए। थापाले १५ हजार छ सय ३६ मत ल्याउँदा पौडेलले नौ हजार ९४ मत ल्याएका थिए। अघिल्लोपटक थापालाई वाम गठबन्धनको साथ थियो भने पौडेल कांग्रेसका तर्फबाट एक्लै चुनावी मैदानमा थिए ।

प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी साझा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य कांग्रेसको भागमा परेको हो । सुवेदी र पौडेलसहित यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गोविन्द सापकोटा र मङ्गोल नेश्नल अर्गनाइजेशनका सहवीर थापा चुनावमा होमिएका छन् । कुल ४६ हजार ८६ मतदाता रहेको यस क्षेत्रमा २१ मतदानस्थल र ५३ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया