शुक्रबार, चैत १६, २०८०

पशुपति क्षेत्रमा ठड्याइयो गुह्येश्वरी जात्राको लिङ्गो

नेपालखोज २०७९ मंसिर १ गते २१:०३

काठमाडाैं । पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुई दिने गुह्येश्वरी जात्राको लिङ्गो उठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन आज लिङ्गो उठाइएको कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिए ।

गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई ल्याउने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालयले जनाएको छ । तलेजु भवानी लिन क्लबको नेतृत्वमा स्थानीयवासीको समूह त्यसतर्फ गएको पनि उहाँले बताए । जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ ।

तलेजु भवानीलाई ल्याइसकेपछि आज गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिने जनाइएको छ । शुक्रबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिन्छ । जात्रा सकी शुक्रबार राति मूर्ति तलेजु मन्दिरमै फर्काइने कार्यक्रम रहेको छ ।

नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समयबजिलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबीजसहित पूजा आराधना गर्ने परम्परा छ ।

गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रुपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रुपमा पूजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो पनि बिहीबार नै ठड्याउने कार्यक्रम रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख शर्माले बताए । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । यसका लागि गत वर्ष नै रुख काटिसकिएको जनाइएको छ ।

तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि ल्याइएको तलेजु भवानीको मूर्ति पशुपति सिर्जनशील युवा क्लबले नै फिर्ता गर्ने जिम्मा दिइएको छ । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ । पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवालीटोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ । कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै शुक्रबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिने संस्थानले जनाएको छ । आज पनि यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लैजाने कार्यक्रम रहेको छ ।

यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् । जात्रा सकिएसँगै शुक्रबार बेलुकी ६ बजे गुह्येश्वरीमा ठडिने लिङ्गो ढालिने कार्यक्रम रहेको छ । जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ । पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये गुह्येश्वरी जात्रा पनि एक हो । रासस

प्रतिक्रिया