आइतबार, जेठ ६, २०८१

बिश्वकप फुटबल- २०२२ पहिलो पटक कतार विश्वकप- २०२२ मा

नेपालखोज २०७९ मंसिर ३ गते १०:१०

काठमाडौं । फिफा विश्वकप २०२२ अर्थात् फुटबलको महाकुम्भ नोमेम्बर २० मा सुरु हुँदैछ । यसपटक कतारमा हुने विश्वकप फुटबलमा ३२ देश सहभागी छन् । कतार अरब क्षेत्रको पहिलो देश हो , जहाँ यति ठूलो कार्यक्रम आयोजना गर्न लागिएको छ । इन्टरनेशनल फेडरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले यस पटक विश्वकपमा केहि नयाँ कुराहरु गर्दैछ, जसमा अफसाइड टेक्नोलोजी तथा खेलाडी प्रतिस्थापनको नयाँ नियम समेत छ ।

अफसाइड प्रविधि : फिफाको प्रशासकीय निकायले यहि वर्षको जुलाईमा अर्ध-स्वचालित अफसाइड प्रणालीको घोषणा गरेको थियो। यसको सहयोगमा यो विश्वकपमा पहिलो पटक एक्युरेट र छिटो अफसाइड कल लिन सकिन्छ । फिफाको सञ्चालक निकायको नयाँ नियमअनुसार कुनै खेलाडी विपक्षी टिमको आधा भागमा भए वा टाउको, शरीर तथा खुट्टाको कुनै पनि भाग विपक्षीको गोललाइनभन्दा नजिक भए अफसाइड पोजिसनमा रहेको मानिन्छ ।

यो टेक्नोलोजी अन्तर्गत बलमा सेन्सर तथा लिम्ब ट्र्याकिङ क्यामेरा प्रणाली प्रयोग गरिन्छ, जसले खेलाडीको मुभमेन्ट ट्र्याक गरिरहन्छ। यो प्रविधिले घरमै बसेर खेल हेर्ने दर्शकहरुलाई रेफ्रीको निर्णय बुझ्न मद्दत गर्नेछ । साथै, यसले स्टेडियमको स्क्रिनमा थ्रीडी पिक्चर प्रक्षेपण गर्न मद्दत गर्नेछ।

फिफाले कतारमा खेलिने सबै आठ वटा स्टेडियममा १२ वटा क्यामेरा स्थापना गरेको छ, जसले गर्दा खेलाडीहरूको गतिविधि डेटा रेकर्ड गर्न तथा भिडियो सहायक रेफरी प्रणालीका लागि प्रयोग गर्न सकिन्छ। प्रतिस्थापनको नयाँ नियम स् फिफाको प्रशासकीय निकायले यस पटक देखि प्रत्येक खेलमा पाँच जना खेलाडी सम्म प्रतिस्थापन गर्न दिने निर्णय गरेको छ। रुसमा खेलिएको फिफा विश्वकप- २०१८ मा एउटा देसले तीन जना खेलाडी प्रतिस्थापन गर्ने नियम थियो।

सन् २०२० मा यो नयाँ निर्णय गर्दै अन्तर्राष्ट्रिय फुटबल सङ्घ बोर्डको सञ्चालक समितिले कोरोना महामारीपछि थप खेलाडी लिन फुटबल समुदायबाट सुझाव आएको बताएको छ । यसबाहेक य‍ो विश्वकपमा खेलिएको खेल अतिरिक्त समयमा गए एक अतिरिक्त प्रतिस्थापनको अनुमति दिइनेछ। फिफा संचालन समितिले प्रतिस्थापनको यो नयाँ नियम घोषणा गरेपछि , यो नयाँ नियम स्पेनको ला लिगा तथा अमेरिकी मेजर लिग सकर जस्ता थुप्रै फुटबल लिगहरूमा समेत लागू गरिएको छ।

अतिरिक्त खेलाडी सम्बन्धि यो नियम क्रिकेटमा जस्तै कोभिड–१९ का कारण ल्याइएको हो । यसले कुनै पनि देसलाई थप खेलाडीको बिकल्प उपलब्ध गराउँछ । गएको विश्वकपमा एउटा देसलाई बढीमा २३ जना खेलाडी आफ्नो टिममा राख्न अनुमति थियो। यसपटक हुने विश्वकपमा कुनै देशले आफ्नो टिममा २६ जना खेलाडी राख्न सक्नेछन अर्थात् अघिल्लो विश्वकपको तुलनामा ३ जना बढी खेलाडी राख्न सकिनेछ । यसका साथै, कुनै पनि देसको प्रारम्भिक टिममा अब ३५ जना खेलाडीको सट्टा ५५ जना खेलाडीको नाम पठाउन सकिन्छ ।

महिला रेफ्री स् पुरुष फुटबल विश्वकपमा पहिलो पटक महिला रेफ्री देखिदैछिन । कतारमा हुन लागेको विश्वकप फुटबलमा तीन जना महिला रेफ्री समावेश हुने भएका छन् । ती महिला रेफ्रीमा फ्रान्सकी स्टेफनी फ्रापार्ट, जापानकी योशिमी यामाशिता तथा रुवाण्डाकी सलिमा मुकानसांगा छन् । यस पटक फिफा विश्वकपमा कुल ३६ जना रेफ्री रहनेछन् । उनीहरू सबैले यसअघि पुरुष प्रतियोगिताहरू यूईएफए सुपर कप तथा अफ्रिका कप अफ नेसन्समा निर्णायकको भुमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया