सोमबार, वैशाख २४, २०८१

अहिलेसम्मकै सबैभन्दा महँगो विश्वकप

नेपालखोज २०७९ मंसिर ४ गते १६:४१

काठमाडौं । कतारमा फिफा विश्वकप आयोजना गर्न कति रकम खर्च भइरहेको छ यकिन भन्न सकिँदैन तर के कुरा निश्चित छ भने सन् १९३० मा सुरु भएको यो फुटबल विश्वकप अहिलेसम्मकै सबैभन्दा महँगो प्रतियोगिता हो । केही अनुमान अनुसार, यसको लागत अघिल्ला २१ वटा बिश्वकपको कुल लागत भन्दा बढी हुन सक्छ ।

केहि विशेषज्ञ तथा रिपोर्टहरु अनुसार, यो बिश्वकपको कुल लागत दुई सय बिलियन डलर भन्दा बढी हुन सक्छ । यस अघि सबैभन्दा महँगो विश्वकप सन् २०१४ मा ब्राजिलमा तथा २०१८ मा रसियामा भएको थियो भने ती दुवै बिश्वकपको कुल लागत २६ दशमलव ६ अर्ब डलर थियो ।

शेफिल्ड हलम युनिभर्सिटीका स्पोर्ट्स फाइनान्सका लेक्चरर ड्यान प्लम्ली भन्छन्- १२ वर्षअघि कतारले २०२२ को विश्वकपको आयोजना अधिकार जित्दा पनि ६५ अर्ब डलर खर्च हुने अनुमान गरिएको थियो । प्लम्लीका अनुसार , ‘हामीलाई यसको लागत कति हो भन्ने ठ्याक्कै थाहा छैन, हालैका केही अनुमान अनुसार यो प्रतियोगिताको कुल लागत करिब दुई सय अर्ब डलर हुनसक्छ । यो सबैभन्दा महँगो प्रतियोगिता हुनेछ । एक अमेरिकी खेलकुद वित्त परामर्शदाताले यसमा लगभग २२० बिलियन लागत लाग्ने अनुमान गरेका छन ।

कतारको खेल आयोजक समितिका अध्यक्ष हसन अल तावदी कतारले आयोजना गर्ने घोषणा गरेदेखि नै यसको पूर्वाधार निर्माणमा २०० अर्ब डलरभन्दा बढी खर्च भइसकेको बताउँछन् । लागतको यो अनिश्चितताको प्रमुख कारण कतार सरकारले फुटबलसँग कुनै सरोकार नभएका कुराहरुमा कार्यक्रम अघि नै गरेको ठूलो खर्च पनि हो। यसमा नयाँ मेट्रो स्टेसन, अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ सडक, करिब एक सय नयाँ होटल तथा मनोरञ्जन सम्बद्ध अन्य निर्माण छन् ।

यी मध्ये अधिकांश निर्माण कतारको महत्वाकांक्षी सार्वजनिक लगानी परियोजना कतार राष्ट्रिय भिजन- २०३० को हिस्सा हो । युनिभर्सिटी अफ लिभरपुलका फुटबल फाइनान्सका विज्ञ किरन मागुइरे भन्छन्, कतार सरकार उहीँ मौकामा देशको पूर्वाधारको समस्यालाई पनि सम्बोधन गर्न चाहन्छ । विश्वकपले त्यो सरकारी अभियानलाई गति दिएको छ । यही कारणले गर्दा पनि यो विश्वकप अन्य प्रतियोगिताको तुलनामा निकै महँगो भएको छ ।

प्लम्ली भन्छन्- यो ठूलो बाजी हो । व्यापारिक दृष्टिकोणबाट यो घाटाको ब्यापार हो जुन धनी देश कतारका लागि पनि केहि चिन्ताको विषय हुनुपर्ने हो । यसबाट कतारले पाउने मुख्य फाइदा गैर-व्यावसायिक भएको उनको भनाइ छ, ‘कतारले यो प्रतियोगिता आयोजना गर्नुको मुख्य कारण र प्रेरणा अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्व स्तरमा रक्षा र सुरक्षा रणनीतिका हिसाबले आफूलाई सफ्ट पावरको रुपमा स्थापित गर्न चाहनु हो ।’

कतारका लागि पैसा ठूलो समस्या होइन । कतार विश्वकप आयोजनाको खर्च वहन गर्न सक्छ । यद्यपि भोक , रोग अनि अभाव सँग जुधिरहेका मुलुकहरुको हिसाबमा कतार विश्वकप फुटबल- २०२२ आर्थिक अपब्यय मात्र हो ।

प्रतिक्रिया