शुक्रबार, वैशाख १४, २०८१

सुदुर पश्चिम प्रदेशमा १५ अर्ब २२ करोडको कृषि कर्जा

नेपालखोज २०७९ मंसिर ६ गते १७:००

काठमाडौं । सुदुर पश्चिम प्रदेशमा १५ अर्ब रुपैंयाँ भन्दा बढी कृषि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्वन्धी सुदूरपश्चिम प्रदेशको वार्षिक प्रतिवेदन-आर्थिक वर्ष २०७८/७९) अनुसार २०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७८ असार मसान्तको तुलनामा २६ प्रतिशतले वृद्धि भई १५ अर्ब २२ करोड ५४ लाख पुगेको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४७ दशमलव ६३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १८ दशमलव ७६ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम शुन्य दशमलव शुन्य तीन प्रतिशत सूर्तिमा प्रवाह भएको छ । समीक्षा अवधिमा यो प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १० दशमलव १९ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६५ दशमलव ५४ प्रतिशत, कञ्चनपुरको १९ दशमलव ८० प्रतिशत, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः तीन दशमलव ८१ प्रतिशत, दुई दशमलव ४६ प्रतिशत, दुई दशमलव ४१ प्रतिशत, एक दशमलव ९५ प्रतिशत, एक दशमलव ४९ प्रतिशत, एक दशमलव ४८ प्रतिशत र एक दशमलव शुन्य छ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०७८ असार मसान्तको तुलनामा ४० दशमलव २४ प्रतिशतले वृद्धि भई १० अर्ब ५६ करोड पुगेको छ । गत वर्ष को सोही अवधिमा यस शीर्षकमा सात अर्ब ५३ करोड कर्जा प्रवाह भएको थियो ।

त्यसैगरी २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको पुनरकर्जा २०७८ असार मसान्तको तुलनामा १९ दशमलव ७२ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३३ करोड ४३ लाख पुगेको छ । गत वर्ष सोही अवधिमा यस शीर्षकमा चार अर्ब ४५ करोड ५५ लाख कर्जा प्रवाह भएको थियो ।

शीर्षक अनुसार प्रवाहित भएको कर्जामध्ये क्षेत्रगत कृषि कर्जा, सहुलियपूर्ण कर्जा तथा पुनरकर्जामा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी रहेको छ भने बाजुरा जिल्लाको हिस्सा सबैभन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया