शुक्रबार, वैशाख १४, २०८१

जनकपुरधाममा साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव

नेपालखोज २०७९ मंसिर ८ गते २१:१२

जनकपुर । बुधबारदेखि सुरु भएको साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सवअन्तर्गत आज दोस्रो दिन फूलबारी लीला मनाइएको छ ।

फूलबारी लीलामा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी रूपमा मनाइने महोत्सवको पहिलो दिन बुधबार नगरदर्शन सम्पन्न भएको थियो । त्रेतायुगमा भगवान् राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको पौराणिक कथन छ ।

सोहीअनुसार विवाह पञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारीमा घुमाउँदै राम र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

मिथिलाको उत्सवमध्ये विवाहपञ्चमीलाई महामहोत्सवका रूपमा भव्यरूपमा साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ ।

महामहोत्सवअन्तर्गत भोलि तेस्रो दिन धनुषयज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौँ दिन मङ्सिर ११ गते मटकोर, छौटौँ दिन मङ्सिर १२ गते स्वयंवर र सातौँ तथा अन्तिम दिन मङ्सिर १३ गते रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ ।

प्रतिक्रिया