मंगलबार, चैत ६, २०८०

मधेसमा सरकार बनाउने कसरत

नेपालखोज २०७९ मंसिर १० गते १३:१२

काठमाडाैं । मधेशका आठ जिल्लामा प्रदेशसभा तर्फ ६४ वटा सिट छ जसमा यसपटक नेकपा एमाले सबैभन्दा ठूलो दलका रुपमा देखा परेको छ । नेकपा एमालेले मधेस प्रदेशका १५ वटा क्षेत्रमा जित हात पारेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ११ सिट जित्दा जनता समाजवादी पार्टी (जसपा) ले १० सिट जितेको छ । चौथो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छ जसले ८ सिट मा बिजय हासिल गरेको छ भने पाँचौं स्थानमा आएको जनमत पार्टीले ६ क्षेत्रमा आफ्ना उम्मेदवार जिताएको छ । बाम – लोकतान्त्रिक गठबन्धनमा भएका नेकपा माओवादी केन्द्र ले ४ सिट तथा नेकपा एकीकृत समाजवादीले ३ सिटमा जित हात पारेका छन । त्यस्तै यहाँका ६ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।

२०७४ को निर्वाचनमा यो प्रदेशमा मधेश केन्द्रित दलले स्पष्ट बहुमत ल्याएका थिए । त्यति बेला मधेस केन्द्रीत सरकार बनाएका मधेशी दलले यसपटक बहुमत पुर्‍याउने सम्भावना देखिदैन । यसपटक प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा जसपा, लोसपा तथा जनमत पार्टीले प्राप्त गरेको सिट संख्या २३ मात्र छ र त्यसमा पनि यी दल एकअर्का सँग मिल्ने खालका छैनन् ।

बाम – लोकतान्त्रिक गठबन्धनमा भएका दलहरुमा कांग्रेसको ११ सिट , लोसपाको ८ सिट , माओवादीको ४ सिट तथा समाजवादी को ३ सिट जोड्दा २६ सिट मात्र पुग्छ । त्यसैले अहिले यो प्रदेशमा गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता प्रकट भएको छ । यहाँ एमाले , कांग्रेस वा जसपाले आफ्नो नेतृत्वमा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई समेटेर सरकार बनाउने प्रयास गर्नेछन् ।

मधेश प्रदेशमा प्रत्यक्ष ६४ र ४३ समानुपातिक सांसदसहित १०७ सिटको ब्यबस्था छ । मधेश प्रदेशसभामा समानुपातिकतर्फ कांग्रेस अगाडि छ भने एमाले दोस्रो स्थानमा छ । २०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो, राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो तथा नेकपा एमाले २३ सिटसहित तेसो स्थानमा आएका थिए ।

प्रतिक्रिया